हेटौंडा। आजदेखि देशभरिका किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान सुरु भएको छ।
सरकारले आजदेखि किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान देशभरि नै सञ्चालन गरिएको हो।
आजदेखि फागुन १५ गतेसम्म देशभरिका विद्यालयमा पढ्ने किशोरी र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाउन थालिएको हो ।
अभियानकै क्रममा गत वर्षको एचपिभी खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म पढ्ने किशोरी र ११ वर्षदेखि १४ वर्षका विद्यालय बाहिरका किशोरी पनि सोही अभियानअन्तर्गत खोप लगाउने र हिमाली तथा हिउँ पर्ने जिल्लामा भने चैतमा सञ्चालन हुने शाखाले जनाएको छ ।
साथै, मकवानपुर जिल्लामा पनि आज देखि खोप अभियान सुरु भएको छ। मकवानपुरका १० वटै स्थानीय तहका ६ कक्षामा अध्ययरत १० वर्ष उमेर समूहका ४ हजार ४ सय ३ जना किशोरीलाई एचपीभी खोप लगाउने भएको छ।
पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरस सङ्क्रमण रहेकाले त्यसको विरुद्ध एचपिभी खोप लगाउनुपर्ने हुन्छ । कक्षा ६ मा पढ्ने किशोरीलाई विद्यालय र अन्य किशोरीलाई खोप केन्द्रमा एचपिभी खोप लगाइने छ ।
खोप शाखाका प्रमुख डा अभियान गौतमले खोप शतप्रतिशत प्रभावकारी रहेकाले खोप लगाउन सबैलाई आग्रह गर्नुभयो । नेपालमा हरेक दिन औसतमा छ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखिन्छ, जसमा चार जनाको ज्यान जाने गरेको छ । तर यो क्यान्सर रोग एचपिभी खोपबाट रोक्ने सकिने छ ।
सरकारले गत वर्ष माघ २२ देखि फागुन ६ गतेसम्म देशभरि नै कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरसमूहका करिब १७ लाख किशोरी खोप लगाएको थियो । शाखाका अनुसार २० दिनको अभियानमा करिब तीन लाख ५० हजार बालबालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने छ ।
नेपालमा महिलामा हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको देखिन्छ भने क्यान्सरको कारणबाट महिलाको मृत्यु हुनेमा यो क्यान्सर पहिलो स्थानमा रहेको छ ।


















