हेटौंडा। फागुन २१ गते अर्थात भोली हुने प्रतिनिधीसभा सदस्य निर्वाचनमा निर्वाचन आयोगले ३ हजार ६ सय ८० वटा मतदान केन्द्र अति संवेदनशील रहेको जनाएको छ।
बुधबार पत्रकार सम्मेलनमार्फत आयोगका सचिव कृष्णबहादुर राउतले ३ हजार ६८० वटा मतदान केन्द्र अति संवेदनशील रहेको जानकारी दिएका हुन्।
उनले ४ हजार ४ सय ४२ वटा संवेदनशील मतदान केन्द्र रहेको पनि बताए। त्यस्तै २ हजार ८ सय ४५ वटा मतदान केन्द्र सामान्य मतदान केन्द्र रहेको बताएका छन्।
यसपाली नेपालभरिबाट १ करोड ८९ लाख ३ हजार ६ सय ८९ जनाले मतदान गर्दैछन् । जसमा ९६ लाख ६३ हजार ३ सय ५८ जना पुरुष मतदाता रहेका छन् । यस्तै, ९२ लाख ४० हजार १ सय ३१ महिला र २ सय जना अन्य मतदाता रहेका छन् । यसपाली मतदान गर्ने मानिसहरुको सहजताका लागि मतदान स्थल र केन्द्र दुबैको वृद्धि गरिएको छ ।
देशभर १० हजार ९ सय ६७ वटा मतदानस्थल र २३ हजार १ सय १२ वटा मतदान केन्द्र रहेका छन् । प्रतिनिधिसभा निर्वाचन २०७९ मा भन्दा अहिले ७५ वटा मतदानस्थल र ८ सय ८५ वटा मतदान केन्द्र थप गरिएको हो ।
गृह मन्त्रालयले अहिले एकीकृत सुरक्षा योजना अन्तर्गत सुरक्षा व्यवस्था मिलाएको बताएको छन । सुरक्षा प्रबन्ध मिलाउन तीन वटा घेरामा सुरक्षा प्रबन्ध मिलाइनेछ। बाहिरी घेरामा नेपाली सेना, बीचमा सशस्त्र प्रहरी बल र भित्र नेपाल प्रहरी रहने व्यवस्था छ।






















