पेट्रोलियम पदार्थको मूल्य बढेपछि यातायातको भाडा समायोजन गर्न व्यवसायीको माग

हेटौंडा टुडे
२०८२ चैत्र २, सोमबार १६:०५ गते

हेटौंडा। पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि पछि सार्वजनिक यातायातको भाडा समायोजन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारसँग माग गरेको छ।

नेपाल आयल निगमले  चैत २ गते रातिदेखि लागु हुने गरी डिजेलमा प्रतिलिटर १० रूपैयाँ र पेट्रोलमा १५ रूपैयाँ मूल्य बढाएपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो।

सार्वजनिक यातायात पूर्ण रूपमा इन्धनमा निर्भर हुने भएकाले मूल्य वृद्धि हुँदा त्यसको असर सिधै यातायात व्यवसायमा पर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।

यातायात व्यवस्था विभागले स्वचालित प्रणालीमार्फत भाडा समायोजन गर्दै आएको भए पनि २०७८ फागुन २२ यता भाडा समायोजन नभएको भन्दै व्यवसायीले असन्तुष्टि जनाएका छन्।

सवारी साधनसँग सम्बन्धित १३ सूचकलाई आधार बनाएर २०६५ सालमा तय गरिएको वैज्ञानिक विधिअनुसार तत्काल भाडा समायोजन गर्न पनि महासंघले माग गरेको छ।

संघीय रुटमा यातायात व्यवस्था विभागबाट र प्रदेश अन्तर्गतका रुटमा सातै प्रदेशका सम्बन्धित मन्त्रालयबाट यथाशीघ्र भाडा समायोजन गर्न महासंघले सरकारको ध्यानाकर्षण गराएको हो।

1fe247d4174ec88e259487947df458e6-1773649797.jpeg

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*