भीमफेदी कारागारबाट फरार १३३ कैदीबन्दी अझै फर्केनन्

हेटौंडा टुडे
२०८३ बैशाख १३, आईतवार १२:०३ गते

हेटौंडा ।  मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये १३३ कैदीबन्दी अझै फर्किएका छैनन् । ‘जेनजी’ आन्दोलनका क्रममा गत भदौ २४ गते राति कारागारको पर्खाल भत्काएर फरार भएका ४४० मध्ये शनिबारसम्म २९४ कैदीबन्दी मात्र कारागार फर्किएका छन् ।

कारागारका प्रमुख सुवास पौडेलका अनुसार, भीमफेदी कारागारबाट भागेकामध्ये हालसम्म २९४ जना र अन्य कारागारबाट फरार ७६ कैदीबन्दी कारागार फर्किएका छन् । फरार भएका ३९ विदेशी कैदीबन्दीमध्ये १३ मात्र  कारागार फर्किएका छन् । अन्य कारागारबाट फरार भई भीमफेदी कारागार फर्किएकामध्ये ५० जनालाई सम्बन्धित कारागारमा स्थानान्तरण गरिएको र २२ जना भीमफेदी कारागारमा रहेका छन।

गत भदौ २४ गते राति १ बजेतिर भीमफेदी कारागारको तीनवटा गेट फुटाई पश्चिमतर्फको पर्खाल भत्काएर (क) ब्लकबाट २६० र (ख) ब्लकबाट १८० कैदीबन्दी फरार भएका थिए । फरार कैदीबन्दीको खोजीका क्रममा सुरक्षाकर्मीले विभिन्न स्थानबाट कैदीबन्दीलाई नियन्त्रणमा लिई कारागारमा बुझाएको प्रमुख पौडेलले बताए । कारागारबाट भागेका फरार कैदीबन्दीको खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले बताएका हुन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*