समस्याग्रस्त सहकारीका ७६ हजार जनाको बचत जेठ देखि फिर्ता गरिने

हेटौंडा टुडे
२०८३ बैशाख २२, मंगलवार १५:३४ गते

हेटौंडा। सरकारले आगामी जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले मंगलबार एक कार्यक्रम गरी आफ्ना कार्ययोजना सार्वजनिक गरेको हो ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारी र बचतकर्ताको आवश्यक विवरण संकलन गरेर बचत रकम फिर्ता गर्ने तयारी गरेको हो । समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताको ४६ अर्ब रुपैयाँ फिर्ता गर्नुपर्ने छ । तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन् ।

पाँच लाखभन्दा कम रकम भएका बचतकर्तालाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी रकम भएकालाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको समितिले जनाएकाे छ । कुल ७६ हजारमध्ये पाँच लाखभन्दा बढी बचत गर्ने जम्मा १८ हजार रहेको समितिले जनाएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले बचत फिर्ताका लागि धेरै काम भइसकेको र अब फिर्ता गर्ने काम सुरु हुने जानकारी दिइन् । ‘यसमा धेरै काम गरिसकेका छौँ । साना बचतकर्ताको रकम पहिले फिर्ता गर्छौँ’, मन्त्री रावलले भनिन् ।

समितिले आफ्नो कार्यविधि तय गर्दै ‘बचत फिर्ता कार्य आरम्भ गर्ने र कर्जा असुलीमा प्राथमिकता दिने नीति अबलम्बन गरिने’ जनाएको छ । समितिले मागदाबीकर्ता बचतकर्ताहरूको बचत फिर्ता गर्ने कार्य आगामी जेठको पहिलो हप्ताबाट आरम्भ हुने र मागदाबी छुट भएका बचतकर्ताको पुनः मागदाबी गर्ने समय आगामी साउन पहिलो हप्तामा खुला गरिने पनि जनाएको छ ।

समितिका अनुसार, नेपाल सरकारबाट चक्रीय कोषमा विनियोजित रकम सम्बन्धित समितिको कोषबाट नपुग हुन गएमा सापटीका रूपमा मात्र खर्च गरिने छ । समितिका सदस्य सचिव रविन ढकालले कर्जा असुलीका लागि समितिले कानुन बमोजिम कठोर नीति अबलम्बन गर्ने जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*