संवैधानिक परिषद्को बैठक : को बन्लान प्रधानन्यायाधीश ?

हेटौंडा टुडे
२०८३ बैशाख २३, बुधबार १५:४९ गते

हेटौंडा। संवैधानिक परिषद्को बैठक आह्वान भएसँगै सर्वोच्च अदालतको प्रधानन्यायाधीश को बन्ने? भन्ने विषयमा चर्चा सुरू भएको छ। प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्ने भएसँगै सम्भावित व्यक्तित्वहरूको चर्चा पनि तीव्र बनेको हो। प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन बिहीबार अपरान्ह ५ बजे संवैधानिक परिषदको बैठक आह्वान गरेका छन्।

न्याय परिषद् बैठकले वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लसहित कुमार रेग्मी,हरिप्रसाद फुयाल,डा.मनोजकुमार शर्मा,डा.नहकुल सुवेदी र तिल प्रसाद श्रेष्ठको नाम सिफारिस गरिसकेको छ। संवैधानिक परिषदको बैठक बस्न नसक्दा उक्त प्रक्रिया लामो समयदेखि रोकिएको थियो। परिषद्ले योग्यता,अनुभव र वरिष्ठताको आधारमा उनीहरूको नाम प्रस्ताव गरेको जनाएको छ।

संवैधानिक परिषदले सिफारिस गरेका मध्येबाट एकजनालाई प्रधानन्यायाधीशका लागि चयन गर्ने संवैधानिक व्यवस्था छ। परिषदको निर्णयपछि उक्त नाम संसदीय सुनुवाइ प्रक्रियामा जाने र त्यहाँबाट अनुमोदन भएपछि मात्र राष्ट्रपतिबाट औपचारिक नियुक्ति हुने प्रावधान छ।प्रधानन्यायाधीश पद न्यायपालिकाको नेतृत्वदायी र संवेदनशील पद मानिन्छ। सर्वोच्च अदालतको न्यायिक कार्यसम्पादन, प्रशासनिक व्यवस्थापन तथा समग्र न्याय प्रणालीप्रति जनविश्वास कायम राख्न प्रधानन्यायाधीशको भूमिका महत्वपूर्ण हुने भएकाले नियुक्ति प्रक्रियालाई निकै चासोका साथ हेरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*