नेकपा सचिवालय बैठक सार्न ओली पक्षको प्रस्ताव

टुडे संवादाता
२ मंसिर २०७७, मंगलवार १६:३७

काठमाडौं/सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा) सचिवालयको बुधबार बस्ने बैठक केही दिन पछाडि सार्न केपी ओली पक्षले प्रचण्ड-माधव पक्षसँग प्रस्ताव गरेको छ ।

कात्तिक २८ गते सुरु भएको सचिवालय बैठक बुधबार दिउँसो १ बजे बालुवाटारमा बस्ने गरी तय भएको थियो । प्रधानमन्त्री केपी ओली पक्षले बुधबारको बैठक केही दिन पछि सार्न कार्यकारी अध्यक्ष प्रचण्डलाई प्रस्ताव गरेको बालुवाटार स्रोतले जानकारी दिएको हो ।

नेकपा भित्रको विवाद कसरी सुल्झाउने भन्ने विषयमा अध्यक्ष एवं प्रधानमन्त्री ओलीसहित उनीपक्षीय नेताहरु सघन छलफलमा जुटेका छन् ।

बालुवाटारको छलफलमा ओलीसहित महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल, सुवास नेम्बाङ, पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवालीलगायत नेताहरु सहभागी छन् ।

भोलिका लागि बोलाइएको नेकपा सचिवालयको बैठक अध्यक्ष ओलीले जसरी पनि टार्ने तयारीमा छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत नेताहरु बैठक बस्ने दाबी गर्दै आएका छन् ।

प्रचण्डले बुझाएको एकल प्रस्ताव फिर्ता नगरेसम्म ओलीले बैठक सार्ने तयारी गरेका छन् भने प्रचण्ड आफूले पेस गरेको प्रस्ताव फिर्ता नलिने अडानमा छन् ।

बालुवाटारमा भइरहेको छलफलमा प्रचण्डले बैठक सार्न नमानेपछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको जनाइएको छ ।

तर, प्रचण्डले भने बैठक सार्ने/नसार्ने विषय पनि बैठकबाटै टुंगो लगाउनुपर्ने ओली पक्षलाई जवाफ दिएको बुझिएको छ ।

‘बुधबार बैठक बसौं, त्यहीँबाट जे निर्णय गर्ने हो गरौंला’ भनेर प्रचण्डले जवाफ दिएको एक नेताले बताए ।

शुक्रबारको बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले केपी ओलीमाथि विभिन्न आरोपहरु लगाउँदै १९ पृष्ठ लामो प्रस्ताव पेश गरेका छन् ।

बुधबारको बैठकमा सो प्रस्तावमाथि छलफल हुनुपर्ने प्रचण्ड पक्षको अडान छ भने ओली पक्षले चाहिँ प्रचण्डले सो प्रस्ताव फिर्ता लिनुपर्ने अडान राख्दै आएको छ ।

प्रधानमन्त्री ओलीले प्रचण्डको प्रतिवेदनलाई वाहियात र झूठको संज्ञा दिँदै आफूले त्यसको जवाफ नदिने बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*