हेटाैंडा । बागमती प्रदेशका भाैतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले कम्युनिष्टले सत्ता चलाउँदा मुलुकलाई अलपत्र पारेकाे भन्दै अब कांग्रेस नेतृत्वकाे सरकारले त्यसलाई सुधार गर्दै लैजाने बताएका छन् ।
धादिङ जिल्लाकाे सिद्धलेक गाउम्हपालिका ६ स्थित कत्लेडाँडामा मंगलबार भएकाे एक कार्यक्रममा बाेल्दै राज्यमन्त्री प्रजाले कम्युनिष्ट नेतृत्वकाे सरकार भ्रष्टाचार र अनियमिततामा फसेकाले मुलुककाे निकास दिन कांग्रेस नेतृत्व अाउनुपरेकाे टिप्पणी गरे ।
जनताकाे पीर मर्का बुझेर काम गर्ने पार्टी नेपाली कांग्रेस मात्र भएकाे भन्दै अबकाे सबै तहकाे निर्वाचनबाट कांग्रेसकाे नेतृत्व स्थापित हुनेसमेत उनले विश्वास व्यक्त गरे । ‘त्यत्राे ठूलाे जनमत पाएकाे कम्युनिष्टकाे सरकारले अाफ्नाे पूरा कार्यकाल पनि काम गर्न सकेन, यसकाे अर्थ अब मुलुकमा कम्युनिष्टले मुलुककाे निकास दिन सक्दैन, याे कुरा जनताले बुझिसकेका छन् ।’ राज्यमन्त्री प्रजाले भने ।
कार्यक्रममा नेपाली कांग्रेस सिद्धलेक गाउँपालिकाका सभापति रामशरण गिरी, महाधिवेशन प्रतिनिधि सीतामाया थापा, गजुरी गाउँपालिका ४ का वडाध्यक्ष सुरेन्द्र प्रजा, कांग्रेस प्रदेश प्रतिनिधि विष्णु थपलिया, माेहन पण्डित, कांग्रेस पूर्व जिल्ला सदस्य हरिकुमार नेपाल, सिद्धलेक ६ का सभापति कृष्ण थपलिया, स्थानीय नेता मनाेज मगरलगायतकाे अातिथ्यता रहेकाे थियाे ।
यसैबीच राज्यमन्त्री प्रजाले सिद्धलेक गाउँपालिका ५ स्थित अाँपटारमा रहेकाे चेपाङ गाउँमा पुगी त्यहाँका नागरिकसँग अन्तरक्रिया गरेका छन् । चेपाङ र मगरकाे बस्ती रहेकाे गाउँका स्थानीयकाे समस्याबारे जानकारी लिँदै प्रजाले समस्या समाधानमा पहल गर्ने प्रतिवद्धता जनाए ।






















