हेटौंडा । यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको माहौल गर्माएको छ । उम्मेदवारी मनोनयन सम्पन्न गरी उम्मेदवारहरु चुनावी अभियानमा जुटिसकेका छन् । यसपटक विभिन्न राजनीतिक दल र केहीले स्वतन्त्र रुपमा पनि उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवारहरु गाउँरनगर विकास गर्ने एजेण्डा बोकेर जनताको घरदैलोसम्म पुगिरहेका छन् । ऐतिहासिक महत्व बोकेको मकवानपुरगढी गाउँपालिकाको नेतृत्वको लागि नेपाली कांग्रेसको तर्फबाट दोर्जे लामा स्याङ्तान उम्मेदवार रहेका छन् । उनलाई सत्तारुढ गठबन्धनले अध्यक्ष पदको लागि उम्मदेवार बनाएको हो । स्याङ्तान नेपाली कांग्रेस मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्वर १ को बहालवाला सचिवसमेत हुन् ।
२०२३ साल फागुन ९ गते रामबहादुर स्याङ्तान र सञ्चमाया रुम्बा ९स्याङ्तान० को पाँचौँ सन्तानको रुपमा धमिले खोलाखेत भन्ने ठाउँमा जन्मिएका दोर्जेले २०४७ सालदेखि शिक्षक संघमार्फत् राजनीतिक यात्राको सुरुवात गरेका हुन् । उनको जीवन संघर्षमय छ । आमाले ज्याला मजदुरी र बुवाले घट्ट चलाएर आर्जन गरेको थोरै आन्दानीबाट दोर्जेको ठूलो परिवारको पालनपोषण तथा शिक्षादिक्षाको व्यवस्थापन गर्नुपर्ने बाध्यता थियो । सानैदेखि अध्ययनशील एवम् लगनशील भएकै कारण दोर्जे स्नातकोत्तरसम्मको अध्ययन गर्न सफल भए ।
डुम्रेकुनाको जाल्पादेवी प्राविमा कक्षा ३ सम्म अध्ययन गरेका दोर्जेले तत्कालिन सारदा निमावी आमभञ्याङ्मा कक्षा ७ सम्मको अध्ययन पुरा गरे । गाउँमा कक्षा ८ पढाई नहुने भएपछि दोर्जेले हेटौंडाको भुटनदेवी माविमा अध्ययन प्रारम्भ गरे । उनी गाउँबाटै आउनेजाने गर्दथे । एसएलसीसम्मको अध्ययन दोर्जेले सोही विद्यालयबाट पुरा गरे ।
दोर्जे २०४० बाट आफैं अध्ययनरत भुटनदेवी माविमा शिक्षण पेशामा आवद्ध भए । उनले अध्ययनलाई पनि निरन्तरता दिए । ‘त्यतिबेला पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलन चलिरहेको थियो । पञ्चायती व्यवस्थामा तत्कालीन शासकहरुबाट जनतामाथि शोषण र दमन व्यापक थियो । त्यस्तो निरंकुश शासन व्यवस्थाका कारण समाजका सबै क्षेत्र आक्रान्त थियो । कांग्रेस पार्टी निकट विद्यार्थी तथा शिक्षक संघहरुले तत्कालिन व्यवस्थाका विरुद्ध आन्दोलन गरिरहेको थियो । सोही आन्दोलनमा सहभागी हुँदादेखि नै राजनीतिक क्षेत्रमा आवद्ध भएको हुँ ।’ दोर्जेले भने ।
त्यतिबेला ‘स्वर्गीय वीपीको सिद्धान्तले मलाई कांग्रेसप्रति आकर्षित गर्यो । हामी साथीभाई जम्मा भएर उनको सिद्धान्तको विषयमा छलफल गथ्र्यौँ, साच्चै यो सिद्धान्तमा अघि बढ्दा मात्रै राष्ट्रियता, लोकतन्त्र र समाजवादको मर्म अनुसार राष्ट अघि बढ्छ र जनताको हित हुन्छ भन्ने लागेपछि प्रजातान्त्रिक मूल्यमान्यता बोकेको पार्टीप्रति म नजिक भएको हुँ । ’ उनले स्मरण गरे ।
उनी २०४८ सालमा शिक्षक संघको जिल्ला सदस्य भए । त्यसपछि उनी आमभञ्याङस्थित सारदा माविको प्रधानाध्यापकको जिम्मेवारीमा रहे । २०५४ मा नेपाली कांग्रेसको क्रियाशील सदस्य भएका उनी पार्टीको १२ औँ महाधिवेशनबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भए । ‘आफुलाई खुलेर राजनीति गर्न मन नलाग्ने, शिक्षक भएपछि पेशागत मर्यादा भुल्न पनि नमिल्ने त्यसकारण अन्य संघ संस्थामा आवद्ध हुन सकिएन । तर, प्रजातान्त्रिक विचार, सिद्धान्तबाट म निकै प्रभावित मान्छे हुँ ।’ उनले भने ।दोर्जेले जीवनको ३५ बर्ष अध्यापन पेशामा विताएका छन् । उनले कखरा सिकाएका हजारौँ विद्यार्थी अहिले राष्ट्रको महत्वपूर्ण जिम्मेवारीमा रहेका छन् । भुटनदेवी मावि, सारदा मावि र चण्डिका माविमा अध्यापन गराएका दोर्जे २०६२ बाट भने २०७४ सम्म विद्यालय स्रोत व्यक्तिको जिम्मेवारीमा रहे ।
दोर्जे २०४६ सालमा पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा नेतृत्वदायी भूमिकामा थिए । २०६२र०६३ मा तत्कालिन राजतन्त्रविरुद्धको आन्दोलनमा मकवानपुर निर्वाचन क्षेत्र नम्वर १ को नेतृत्व तहमा थिए । उनको सक्रियता र कार्यकुशलताबाट प्रभावित भएर पार्टीले उनलाई २०७४ को स्थानीय निर्वाचनमा मकवानपुरगढी गाउँपालिको अध्यक्ष पदको उम्मेदवार बनाएको थियो । तर, उनी झिनो मतले पराजित भएका थिए ।
‘झिनो मतले पराजित हुनुपरेको कारण जनहितका थुप्रै काम गर्ने इच्छा अधुरै रह्यो । यस पटक फेरी अवसर पाएको छु, माहौल पनि राम्रो छ । सबैको सहयोग पाए एक पटक मकवानपुरगढीलाई समृद्ध बनाउन काम गर्ने इच्छा छ ।’ उनले सुनाए ।उनले आफुले मकवानपुरगढीको नेतृत्व लिएपछि कृषि क्षेत्रलाई आधुनिकिकरण र व्यवसायीकरण गर्ने, पालिकाभर गुणस्तरीय शिक्षा प्रणाली लागू गर्ने, शैक्षिक स्तरोन्नतीको लागि पहल गर्ने, प्राकृतिक स्रोत साधनको समूचित प्रयोग गरी पालिकाको आयस्रोत वृद्धि गर्ने, कक्षा १२ सम्म निःशुल्क शिक्षाको प्रबन्ध मिलाउने, एक घर एक घारा, एक टनेल निर्माण गर्ने, प्रत्येक वडामा जेष्ठ नागरिक मिलन केन्द्र स्थापना गर्ने, निःशुल्क पशु बीमा कार्यक्रम संचालन गर्ने, मृतकको परिवारलाई राहत उपलब्ध गराउने, युवा स्वरोजगारको क्षेत्रमा काम गर्ने योजना रहेको सुनाए ।
नेपाल रेडक्रश मकवानपुरगढी इकाइको सभापति भएर पनि काम गरेका दोर्जेले अन्य एजेण्डाहरु भने मतदाताको सुझावको आधारमा तय गरी सोही अनुसार योजना बनाई कार्यान्वयनको चरणमा लैजाने बताए । समृद्ध मकवानपुरगढी निर्माणको लागि आफुलाई गठबन्धनले उम्मेदवारको रुपमा खडा गरेको दोर्जे बताउँछन् ।






















