हेटौंडा उपमहानगरकै बासिन्दा काकाकुल‚ घण्टौं हिँड्छन् खानेपानी ओसार्न

हेटौंडा टुडे
२०७९ भाद्र ३१, शुक्रबार ०८:०१ गते

हेटौंडा  । बागमतीको राजधानी हेटौंडा उपमहानगरपालिका–१९ बस्तीपुरको भित्री भागका बासिन्दा खानेपानी लिन अझै घण्टौं हिँड्नुपर्ने बाध्यतामा छन्। उक्त वडाको डुमारे,लेकपानी, कालिटार र भालुखोलाका बासिन्दाहरु खानेपानी लिन दैनिक घण्टौं हिँड्ने गरेका हुन्।

हेटौंडा बजारबाट करिब १८ किलोमिटर पार गरेपछि मात्र बासुदेव आइपुग्छ। बासुदेवबाटै शुरु भएको खानेपानी अभावको समस्या त्यहाँबाट जति माथि उक्लियो त्यति विकराल बन्दै गएको पाइन्छ।हेटौंडा प्रदेशको राजधानी भएपछि धेरै कुरा परिवर्तन भयो। देश संघीयतामा गएर पहिलोपटक प्रदेश सरकार आएपछि धेरै परिवर्तन आए। तर हेटौंडा–१९ का बासिन्दाको दुखः भने सुखमा परिवर्तन भएनन्‚ जस्ताको तस्तै रहे।

वडाका केही क्षेत्रमा पानी पुगे पनि अधिकांश स्थानका बासिन्दाको पहुँच पानीमा समेत नपुगेको र कतिपय पानी पुगेको ठाउँमा पनि दूषित भएको स्थानीयको भनाई छ।बासुदेवका बासिन्दा बर्खामा घण्टौं हिँडेर पानी लिन जानुपर्ने बाध्यता रहेको गुनासो गर्छन्। हिउँदमा कुँवा र खोल्चीको पानी आउने भए पनि लेउ र चुन मिसिएको पानी खानुपर्ने बाध्यता रहेको त्यहाँका बासिन्दाको भनाई छ।

प्रदेश सरकारले ‘एक घर एक धारा’ अभियान सञ्चालन गरिरहेको छ भने हेटौंडा उपमहानगरपालिकाले पनि उपमहानगर क्षेत्रमा निःशुल्क खानेपानी वितरण शुरु गरिसकेको छ।तर पनि प्रदेशको खानेपानी मन्त्रालय र उपमहानगरको कार्यालयबाट केही समयको दूरीमा नै रहेको उक्त गाउँको बासिन्दाले सहजै पानी खान नपाएको स्थानीय बासिन्दाको दुखेसो छ।बासुदेवकी स्थानीय हिरामाया प्रजाले हिउँदमा जेनतेन डाँडामा रहेको कुवाबाट तानिएको पानी घरसम्म आउने गरेको बताइन्। चुन भएको नुनिलो दूषित पानी भए पनि खाने गरेको उनको भनाई छ।

तर वर्षामा पानीको भेल पसेपछि पानी खानलायक हुँदैन। त्यसैले वर्षा याममा हिँडेर पानी लिन उकालो लाग्नुपर्ने बाध्यता रहेको प्रजा सुनाउँछिन्। चुन मिसिएको दूषित पानी पिउनाले गाउँका धेरै जनामा टिबी, पत्थरी तथा झाडापखालाको समस्यासमेत देखिएको उनको बुझाई छ।

‘पानी नखाऊ भन्न पनि भएन। यस्तो फोहोर पानी खाँदा बिरामी भइन्छ रे१ गाउँको कति जनामा त टिबी, पत्थरी र बच्चाहरूलाई झाडापखाला पनि लागेको छ’, उनले भनिन्। उनले सहज रुपमा गाउँलेहरूलाई स्वच्छ र सफा पानी खुवाउन वडाले कुनै चासो नदेखाएको गुनासो गरिन्।कविता पहेलीले पनि कुवा, कुलो र खोल्चाको पानी प्रशोधन नगरी खाँदा रोग लागेको बताइन्। गाउँमा आफूहरूलाई अरु विकासभन्दा पहिला सफा पानी चाहिएको पहेलीले बताइन्। हिउँदमा कुवा र खोल्चीको पानी आउने भए पनि लेउ र चुन मिसिएको पानी खानुपर्ने बाध्यता रहेको उनले सुनाइन्।

हेटौंडा उपमहागरपालिका–१९ का वडाध्यक्ष नरनाथ सुवेदी बासुदेवमा दूषित नै भए पनि जिनतिन पानी पुगेको बताउँछन्। ‘हाम्रो वडाको अझै कति ठाउँमा अहिलेसम्म पानी पुर्‍याउन नै सकिएको छैन। प्रदेशको राजधानी भनेर के गर्नुरु खानेपानीकै समस्याले विकराल छ’, उनले भने।

प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकाको चासोमा नपर्दा प्रदेशको राजधानीवासी खानेपानीबाटै वञ्चित हुनुपरेको उनको गुनासो छ। सुवेदीले चुन मिसिएको पानी खानुपर्ने बाध्यता रहेको बासुदेवको समस्या यो वर्ष समाधान हुने बताए।

तर वडाको डुमारे, लेकपानी, कालीटार र भालुखोलामा पानी पुर्‍याउन भने वडाको मात्रै एकल प्रयासले सम्भव नहुने उनको भनाई छ। उक्त स्थानमा लिफ्ट सिँचाइबाट खानेपानी लैजाने योजना प्रदेश सरकारले बनाएको भए पनि बजेट विनियोजन नगर्दा योजना नै अलपत्र परेको उनले बताए।

सुवेदीले हेटौंडा उपमहानगरपालिकाले पनि पानी पुगेको स्थानमा निःशुल्क खानेपानी वितरण गरेको भन्दै पानी नै नपुगेको स्थानलाई बेवास्ता गरेको बताए। ‘जहाँ पानी पुगिसकेको छ, त्यहाँ चाहीँ १० हजार लिटर खानेपानी निःशुल्क रे१ अनि अहिलेसम्म पानी नै नपुगेको ठाउँमा चाहीँ चासो नै छैनरु’, सुवेदीले प्रश्न गरे।

प्रदेश सरकारको खानेपानी, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘एक घर एक धारा’ अभियान सञ्चालन गर्दै आएको छ। प्रदेश सरकारले प्रदेशका सबै जिल्लाको अधिकांश घरमा खानेपानीको धाराको पहुँच पुर्‍याएको दाबी पनि गर्दै आएको छ।

तर प्रदेशको राजधानीमा नै हालसम्म खानेपानीको पहुँच पुग्न सकेको छैन। हेटौंडा उपमहानगरपालिकाले पनि भदौ १ गतेबाट हेटौंडा खानेपानी व्यवस्थापन बोर्डबाट प्रत्येक महिना १० हजार लिटर खानेपानी निःशुल्क गरेको छ।

खानेपानीमा पहुँच हुनुको साथै महशुलसमेत बुझाउन सक्ने बजार क्षेत्रका बासिन्दालाई निःशुल्क पानी वितरण गरेको उपमहानगरले पिछडिएका वडाहरूमा खानेपानीको पहुँच विस्तारतर्फ ध्यान दिएको छैन।

थाहा खवरबाट 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*