हेटौंडा | लुम्बिनी प्रदेशको स्थायी राजधानी कार्यान्वयनको आज औपचारिक घोषणा हुँदैछ । प्रदेशको राजधानी दाङको देउखुरीबाट आजदेखि कार्य प्रारम्भ गरिने भएको हो ।
आज दिउँसो १२ बजे प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय उद्घाटन एवम् झण्डत्तोलन गर्ने कार्यक्रम रहेको छ । योसँगै प्रदेश राजधानी कार्यान्वयन भएको घोषणा हुनेछ ।
औपचारिक समारोहलाई प्रदेश प्रमुख शेरचन, हालका मुख्यमन्त्री कुलप्रसाद केसी, निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल र प्रदेश सभाका निवर्तमान सभामुख पूर्ण घर्तीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
२०७७ साल असोज २० गते प्रदेशसभाको दुई तिहाइ बहुमतले लुम्बिनी प्रदेशको नामाकरण र स्थायी राजधानी दाङको राप्ती उपत्यका तोकेको थियो । स्थायी राजधानी तोकेको दुई वर्षपछि कार्यान्वयनमा आएको हो । यसअघि अस्थायी मुकाम बुटवलबाट प्रदेश सरकारले काम गर्दै आएको थियो ।


















