निर्वाचन आयोगद्वारा अन्तिम परिणाम सार्वजनिक

हेटौंडा टुडे
२०७९ मंसिर २८, बुधबार १४:४६ गते

हेटौंडा|  निर्वाचन आयोगले हालै सम्पन्न चुनावको अन्तिम परिणाम सार्वजनिक गरेको छ । आयोगले बुधबार पत्रकार सम्मेलन गरी अन्तिम परिणाम सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभाको नतिजासहितको अन्तिम प्रतिवेदन बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने जानकारी दिए । यस्तै आयोगले आगामी पुष २ गते प्रदेशसभा निर्वाचनको नतिजा सम्वन्धित प्रदेश प्रमुखलाई बुझाउने कार्यतालिका तय गरेको उनले जनाए ।
आयोगले अन्तिम प्रतिवेदन बुझाएपछि निर्वाचित सदस्यको नामावली राजपत्रमा प्रकाशन हुनेछ । आयोगले प्रतिनिधिसभा र प्रदेशसभातर्फ कुल ८२५ जना निर्वाचित भएको जनाएको छ । जसमध्ये प्रतिनिधिसभामा १८४ पुरुष र ८१ जना महिला छन् । यो प्रतिशतका हिसाबले पुरुष ६७ प्रतिशत र महिला ३१ प्रतिशत भन्दा केही बढि रहेको आयोगले जनाएको छ ।

राज्यका हरेक निकायमा महिलाको संख्या ३३ प्रतिशत हुनु पर्ने प्रावधान भए पनि प्रतिनिधिसभामा भने उक्त संख्या पुगेन । राष्ट्रियसभा समेत गरी यसलाई ३३ प्रतिशत पुर्‍याइएको छ ।

यस्तै प्रदेशसभातर्फ ३५० जना पुरुष र महिला २०० जना निर्वाचित भएका छन् । प्रदेशसभामा पुरुषको संख्या ६३ दशमलव ६४ प्रतिशत छ । प्रदेशसभामा महिलाको संख्या भने ३६ प्रतिशत भन्दा बढि पुगेको छ ।प्रतिनिधिसभामा ७ वटा पार्टीले राष्ट्रिय दलको मान्यता पाएका छन् । यस्तै प्रदेश १ मा ६, मधेस प्रदेशमा १०, बागमतीमा ७, गण्डकीमा ७, लुम्बिनीमा १०, कर्णालीमा ६ र सुदूरपश्चिम प्रदेशमा पनि ६ वटै दलको समानुपातिकतर्फ प्रतिनिधित्व भएको प्रमुख आयुक्त थपलियाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*