हेटौंडा| निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन परिणामसहितको प्रतिवेदन आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने भएको छ ।
आयोग पदाधिकारीले आज बिहान १० बजे राष्ट्रपति भण्डारीलाई भेटेर प्रतिवेदन बुझाउन लागेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।
उृनका अनुसार, निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्नुपर्ने प्रावधान अनुसार आज प्रतिवेदन पेस गर्न लागिएको हो ।
यसैगरी, प्रदेशको हकमा पुस २ गते प्रदेश प्रमुखसमक्ष निर्वाचनको प्रतिवेदन बुझाइने उनले जानकारी गराए । आयोगले निर्वाचनको प्रतिवेदन बुझाइसकेपछि नयाँ सरकार गठनको तयारी तीव्र हुनेछ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि ८६ वटा राजनीतिक दल दर्ता भएका थिए । जसमध्ये प्रत्यक्षतर्फ ६१ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ४७ वटा राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए ।
यसपटकको निर्वाचनबाट प्रतिनिधि सभामा ११ दलका सांसदहरु रहने छन् । तर, राष्ट्रिय दलको मान्यता भने ७ वटा पार्टीले मात्र पाएका छन् ।






















