हेटौंडा| मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले प्रदेश–१, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भू–भागमा हुस्सु लागेको छ ।
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश एक र गण्डकी प्रदेशको हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने राति पनि प्रदेश–१ को हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने तथा तराईका केही भू–भागमा बिहानीपख हुस्सु लाग्ने सम्भावना रहेको हुनाले दैनिक जीवन र सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।


















