निर्वाचन आयोगले गर्‍यो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षा

हेटौंडा टुडे
२०७९ पुष १३, बुधबार १४:२९ गते

हेटौंडा| निर्वाचन आयोगले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षाका कार्यक्रम शुरू गरेको छ ।

आयोगले प्रदेश र जिल्लास्तरमा समीक्षा कार्यक्रम सञ्चालनको तयारीका लागि प्रारम्भिक समीक्षाका लागि बुधवार र बिहीवार भक्तपुरको नगरकोटमा कार्यक्रम सञ्चालन गरेको छ ।

कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनका सबल र दुर्वल पक्षको समीक्षा गरेर निर्वाचन पश्चातको अवधिमा आयोगले गर्नुपर्ने कानूनी र नीतिगत सुधारका साथै अन्य कामको खाका कोर्नुपर्ने जनाए ।

‘विगतका निर्वाचनको समीक्षामा आएका निष्कर्षलाई कति कार्यान्वयन गर्न सकियो ? त्यसको पनि चिरफार गरेर भावी निर्वाचनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन लागौं,’ उनले भने, ‘निर्वाचन चक्रका हिसाबले आगामी आवधिक निर्वाचन आउन ५ वर्ष बाँकी रहँदा अहिले निर्वाचन अगाडिको अवधि हो । निर्वाचनको मिति घोषणा भइसकेपछि हामीलाई अस्तव्यस्त र त्रस्त अवधि अनुभव हुने गरेको छ । त्यसैले निर्वाचनपछिको अवधिमा पनि काम गरेर निर्वाचनको व्यवस्थापन र स्वच्छतामा योगदान पुग्नेछ ।’

उनले निर्वाचनको मिति निर्धारणको अन्योल र जनप्रतिनिधिको पदावधि र निर्वाचनका चरणबारे आयोगले निर्णय गरेर एक प्रकारको थिति बसाउन खोजे पनि यस्ता विषयलाई कानूनमै स्पष्ट पार्नुपर्नेमा जोड दिए ।

यस्तै एउटा दलको व्यक्ति त्यो दलको जिम्मेवारीमा रहेकै बेला अर्काे दलको समानुपातिकको उम्मेदवार हुन पाउने नपाउने ? लैंगिकता र समावेशीतालाई संविधानको मर्मअनुसार कसरी पालना गराउने ? उम्मेदवारको योग्यतामा उठेका विवादलाई कसरी कानूनी निरुपण गर्ने जस्ता विषयमा समीक्षा गर्न प्रमुख आयुक्त थपलियाले आग्रह गरे ।

प्रारम्भिक समीक्षा कार्यक्रममा निर्वाचन आयुक्तहरू, आयोगका सचिव, महाशाखा र शाखा प्रमुखहरू सहितको सहभागिता रहेको आयोगका उपसचिव कमल भट्टराईले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*