बागमती प्रदेश सरकारद्धारा किसान परिचय पत्र वितरण कार्यविधि स्वीकृत

हेटौंडा टुडे
२०७९ पुष १३, बुधबार १६:२५ गते

हेटौंडा । बागमती प्रदेश सरकारले किसान परिचय पत्र वितरण कार्यविधि २०७९ स्वीकृत गरेको छ । कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले कृषि विकास अध्यादेश, २०७९ को दफा ३० ले दिएको अधिकार प्रयोग गर्दै प्रदेशभित्र रहेका किसानहरुलाई व्यावसायिकताको आधारमा वर्गीकरण गर्न किसान परिचय पत्र वितरण गर्न कार्यविधि स्वीकृत गरेको हो ।

कृषि मन्त्रालय बागमती प्रदेशले स्वीकृत गरेको कार्यविधिमा किसानलाई फार्मको आकार र उत्पादन क्षमताको आधारमा तीनवटा वर्ग (व्यवासायिक, अर्धव्यवसायिक र निर्वाहमुखी ) मा वर्गीकरण गरिएको छ ।

कम्तिमा ३० कठ्ठामा खाद्यान्न, फलफुल र तरकारी,दलहन र तेलहन, १ कठ्ठाभन्दा माथि क्षेत्रफलमा पुष्पखेती, १५ कठ्ठामा मसलाबाली, २६ भन्दामाथि मौरी घारसंख्या भएको , बार्षिक १ हजार किलोभन्दामाथि रेशम कोया उत्पादन, बार्षिक १ हजार किलोभन्दामाथि च्याउ उत्पादन र ३ सय वर्ग मिटरभन्दा माथि संरक्षित संरचना भएका किसानलाई व्यवासायिक किसानमा वर्गीकरण गरिएको छ ।

यसैगरी, १० देखि ३० कठ्ठासम्मको क्षेत्रफलमा खाद्यान्न, फलफुल, तरकारी/आलु, १ कठ्ठासम्म पुष्प खेती, ५ देखि १५ कठ्ठासम्म मसलाबाली, ३०० वर्गमिटरभन्दा कम संरक्षित संरचना, ६ देखि २५ वटासम्म मौरी घारसंख्या, बार्षिक ५०० देखि १००० किलोसम्म रेशम कोया उत्पादन र २०० देखि १००० किलोसम्म बार्षिक रुपमा च्याउ उत्पादन भएका किसानलाई अर्धव्यावसायिक किसानमा वर्गीकरण गरिएको छ ।

त्यसैगरी, १० कठ्ठाभन्दा कम खाद्यान्न,फलफुल, तरकारी/आलु, दलहन र तेलहन, ५ कठ्ठाभन्दा कम मसालबाली, ५ वटासम्म मौरीघार, ५०० केजीसम्म बार्षिक रेशम कोया उत्पादन र अधिकतम २०० केजीसम्म बार्षिक च्याउ उत्पादन गर्ने किसानलाई निर्वाहमुखी किसानमा वर्गीकरण गरिएको छ ।

मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले किसानले परिचयपत्र प्राप्त गरेपछि उनीहरुमा किसान हुँ भन्ने आत्मसम्मान बढ्ने बताए । किसान परिचयपत्रबाट वास्तविक र गैर किसानको पहिचान हुने, कृषि अनुदानको दुरुपयोग हुनबाट जोगिने, मन्त्रालयको बार्षिक स्वीकृत कार्यक्रम अनुसार प्रदेशभरी किसान वर्गीकरण अनुसार प्याकेजमा कृषि अनुदान रप्रवद्धर्नका कार्यक्रम लैजान सहज हुने र खेतीबालीको समय रासायनिक मल लिन समेत सजिलो हुने सूचना अधिकारी, अधिकारीले बताए ।

उनका अनुसार मन्त्रालयले बैंक तथा वित्तिय संस्थाहरुसंग सोही परिचयपत्र मार्फत किसानलाई व्यवसायिक ऋण दिने विषयमा पनि छलफल चलिरहेको छ । छिट्टै नै यस प्रक्रियालाई पनि अगडाी बढाइने उनको भनाई छ ।

किसान परिचयपत्र दर्ता प्रक्रिया

मन्त्रालयले तीन महिने अभियान सञ्चालन गरी किसान परिचय पत्र वितरण कार्यको सुरुवात गरिने बताएको छ । किसानले परिचयपत्र लिन सम्बन्धित जिल्ला ज्ञानकेन्द्र वा विज्ञ केन्द्रमा गई फारम भर्नुपर्नेछ । फारमसंगै निवेदन, फार्म दर्ता, नबिकरण भएको प्रमाणपत्र लगायतका कागजात पेश गर्न भनिएको छ । किसानले पेश गरेका विवरणलाई अध्ययन गरी मादण्ड पुरा गरेका किसानलाई ज्ञान केन्द्र वा विज्ञ केन्द्रले दर्ता प्रक्रियामा लैजानेछ । यसरी दर्ता प्रक्रिया पुरा भएपछि किसानले आफ्नो वर्गअनुसारको परिचय पत्र पाउनेछन् ।

परिचयपत्र प्राप्त गरेका किसान अर्ध व्यावसायिक र व्यावसायिक किसानले परिचयपत्र जारी भएको मितिले ६ महिनाभित्र अनिवार्य कृषि बिमा गर्न पनि मन्त्रालयले सुझाएको छ । परिचयपत्रको अवधि २ बर्षसम्म रहनेछ । २ वर्ष पुगेको तीन महिनाभित्र पुनः किसानले त्यसलाई नबिकरण गर्न सक्नेछन् । साथै किसानले चाहेका समयमा पनि परिचयपत्र अद्यावधिक गर्न सकिने कार्यविधिमा उल्लेख छ । कृषि ज्ञान केन्द्र र विज्ञ केन्द्रमा गई परिचयपत्रको निःशुल्क रुपमा नबिकरण गर्न सकिने मन्त्रालयले जनाएको छ ।

सूचना अधिकारी अनुप अधिकारीका अनुसार झुटा विवरण पेश गरेर परिचयपत्र लिएको पाइएमा परिचयपत्र खारेज हुने व्यवस्था रहेको छ । साथै अर्धव्यावसायिक किसानले आफ्नो व्यावसायिक स्थितीलाई बढाउँदै लगिएको अवस्थामा त्यसको अनुगमन गरेर अर्धव्यावसायिकबाट व्यावसायिक किसानको परिचयपत्र दिन पनि सकिने उनको भनाई छ ।

मन्त्रालयले व्यावसायिक किसानलाई हरियो, अर्धव्यावसायिक किसानलाई पहेंलो र निर्वाहमुखी किसानलाई रातो रंगको परिचयपत्र वितरण गरिने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*