हेटौंडा । नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरू भएको छ । संघीय संसद भवन बानेश्वर पुगेर राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले पहिलो मतदान गरेका छन् । मतदान बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहने छ ।
नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा संघीय सांसद् र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ । राष्ट्रपति निर्वाचनमा एमालेबाट सुवासचन्द्र नेम्वाङ र आठदलीय गठबन्धनबाट रामचन्द्र पौडेल उम्मेदवार छन ।
मतदाताले सांसद निर्वाचित भएको प्रमाणपत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र वा संघीय वा प्रदेश सभा सचिवालयले जारी गरेको परिचयपत्रका आधारमा मतदान गर्न पाउनेछन । मतदान स्थलमा प्रज्वलनशील पदार्थ, हातहतियार, मोबाइल र क्यामेरा निषेध गरिएको छ ।
मतदानका लागि महिला र पुरुषको छुट्टै लाइनको व्यवस्था गरिएको छ । मतदान सकिएलगत्तै आवश्यक प्रकृया पुरा गरेर आजै मतगणना सुरु गरिने र ढिलोमा आजै साँझ ७ बजेभित्र घोषणा गरिने आयोगले जनाएको छ ।






















