हेटौंडा| उपराष्ट्रपति बारे सहमति खोज्न १० दलीय सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सहमति हुन नसकेपछि आज फेरी गठबन्धनको बैठक बस्न लागेको हो ।
बुधबार बसेको बैठकमा पनि उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल थियो । उक्त बैठकमा आधिकारिक उम्मेदवार तोक्ने विषयमा सहमति जुट्न नसकेपछि आज फेरी बैठक बस्न लागेको हो ।
गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार जसपाका रामसहाय यादव र जनमत पार्टीकी ममता झा रहेका छन् । दुई उम्मेदवारमध्ये एकलाई गठबन्धनको साझा उम्मेदवार बनाउनका लागि दलहरू समझदारी खोजी रहेका छन् ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री डा।बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत शीर्ष नेता सहभागी रहनेछन् ।
नेताहरूले जसपाका यादवलाई साझा उम्मेदवार बनाउन जोड दिए पनि जनमत पार्टीले आफ्नो अडान कायमै राख्दा सहमति जुट्न नसकेको हो ।






















