हेटौंडा | जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उनका अनुसार, शुक्रबार हुने उपराष्ट्रपति निर्वाचन र रिक्त एक समानुपातिक सांसद सिट पूर्ति गर्ने विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।
प्रतिनिधि सभामा समानुपातिक सांसद शहनाज रहमानको निधन भएपछि जसपाको एक सिट रिक्त छ । मुस्लिम क्लस्टरको पहिलो नम्बरमा नाम भएकी सांसद रहमानको गत फागुन १३ मा निधन भएको थियो ।
पार्टीबाट मुस्लिम क्लस्टरको दोस्रो स्थानमा मञ्जु अन्सारीको नाम भएकाले उनकै विषयमा बैठकबाट निर्णय हुने जसपाका नेताहरुले बताए ।
बैठकमा शुक्रबार हुने उपराष्ट्रपति निर्वाचनका विषयमा पनि छलफल हुनेछ । सत्ता गठबन्धनको साझा उम्मेदवार जसपाका रामसहाय प्रसाद यादव र नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य उपराष्ट्रपति पदको उम्मेदवार छन् ।
सत्ता गठबन्धनबाटै जनमत पार्टीकी ममता झा पनि उम्मेदवार भएकाले कुनै एक जना उम्मेदवार मात्र कायम गर्ने विषयमा गठबन्धनभित्र छलफल हुँदै आएको छ ।






















