हेटौंडा। हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले आफ्नो १३औँ वार्षिकोत्सव कार्यक्रमका आज मनाएको छ । वार्षिकोत्सवका अवसरमा उत्कृष्ट कर्मचारीहरू सम्मानित भएका छन् ।
वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाले हेटौंडामा खानेपानी व्यवस्थापनको क्षेत्रमा बोर्डले महत्वपूर्ण काम गरेको बताइन् । उनले हेटौंडामा खानेपानीको क्षेत्रमा अझै करोडौँ रुपैयाँ बराबरका पूर्वाधार निर्माणको चरणमा रहेको उल्लेख गर्दै हाल भइरहेको पानी उत्पादनको क्षेत्रलाई थप विस्तार गर्नुपर्नेमा जोड दिइन् । मेयर लामाले उपभोक्तालाई धाराबाटै सिधै पिउन मिल्ने स्वच्छ खानेपानी वितरण गर्नुपर्ने आवश्यकता औंल्याइन् ।
बोर्डले हाल हेटौंडा उपमहानगरपालिकाका १९ मध्ये १७ वडामा खानेपानी सेवा विस्तार गरेको जनाएको छ ।
बोर्डका अनुसार २९ हजार ७०९ धारामार्फत करिब १ लाख ७० हजार नगरवासीलाई दैनिक ३ करोड ७५ लाख लिटर खानेपानी वितरण भइरहेको छ । मुख्य बजार क्षेत्रमा २४सै घण्टा तथा अन्य क्षेत्रमा दैनिक ८ देखि ९ घण्टा पानी वितरण हुँदै आएको जनाएको छ ।
हाल बोर्डसँग सतहगत एक मुहान, ४० डिप ट्युबेल र १९ समवेल सञ्चालनमा रहेका छन् । पानी भण्डारण क्षमता ८ हजार ९ सय ५२ घनमिटर पुगेको तथा करिब ८ सय किलोमिटर पाइपलाइन विस्तार गरिएको जानकारी दिइएको छ ।
वार्षिकोत्सवका अवसरमा बोर्डले विभिन्न पूर्वाधार योजना सम्पन्न भएको जानकारी दिएको छ । हेटौंडा–१५ सानो सुकौलीमा १ लाख लिटर क्षमताको पानी ट्यांकी, वडा नं. १६ मा सार्वजनिक शौचालय, आधुनिक पानी परीक्षण प्रयोगशाला तथा विभिन्न क्षेत्रमा पाइपलाइन विस्तार गरिएको जनाएको छ ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र बोर्डको सहलगानीमा हेटौंडा–१६ शक्तिमा ६ वटा पानी संकलन ट्यांकी, समवेल तथा ३.५ किलोमिटर पाइपलाइन विस्तार गरिएको छ । यस्तै बागमती प्रदेश सरकारसँगको सहकार्यमा हेटौंडा–११ थानाभर्याङ–सिमलटार क्षेत्रमा ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्यांकी तथा पूर्वाधार निर्माण सम्पन्न गरिएको बोर्डले जनाएको छ ।
वार्षिकोत्सवका अवसरमा बोर्डले अनुशासन, कार्यसम्पादन मूल्याङ्कन, कामप्रतिको लगनशीलता लगायतका आधारमा उत्कृष्ट कर्मचारीहरुलाई प्रशंसापत्र तथा नगदसहित पुरस्कृत गरेको छ । सम्मानित हुने कर्मचारीहरुमा नमुना पण्डित, अजय थिङ, दिपेन्द्र महत, पुष्पा पौडेल पाण्डे, समि श्रेष्ठ, गोविन्द बहादुर थपलिया, डिल बहादुर योन्जन तथा तिलक बहादुर श्रेष्ठ रहेका छन् ।
सेयर गर्नुहोस्






















