हेटौंडा। मकवानपुरको भिमफेदी गाउँपालिका–८ महादेवटार स्थित रहेको फास्ट ट्रयाकको सुरुङमा काम गर्ने क्रममा एक कामदारको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाण्डौं–तराई–मधेश द्रुतमार्ग अन्तर्गतको सुरुङ निर्माणस्थलमा काम गर्ने क्रममा मृत्यु भएको हो ।
गएराती राति करिब ९ः४५ बजेको समयमा सुरुङभित्र काम गरिरहेका बेला प्रयोग हुने रिपिट तथा ढुङ्गा (फलामबाट बनेको उपकरण) खसेर लाग्दा बर्दिया घर भएका ३० वर्षीय रामगोपाल चौधरी गम्भीर घाइते भएका थिए । साथै, थाहा नगरपालिका–५ सानोपाखा बस्ने अन्दाजी २२ वर्षीय सन्तोष बम्जनको दाहिने हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।
दुवै घाइतेलाई उपचारका लागि चुरेहिल अस्पताल, मकवानपुर लगिएको थियो । अस्पतालमा राति ११ः३५ बजे पुगेका चौधरीको उपचारकै क्रममा ११ः४० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइते बम्जनको सोही अस्पतालमा उपचार भइरहेको छ । उक्त घटनास्थल इलाका प्रहरी कार्यालय ठिंगनबाट करिब ११ किलोमिटर उत्तर क्षेत्रमा पर्छ । प्रहरीका अनुसार मृतकको शव हेटौंडा अस्पताल ल्याउने तयारी भइरहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।






















