
काठमान्डौ, असोज १०
बाल गायक प्रेम परियारले ‘नाई नभन्नु ल ४’ पछि चलचित्र ‘पोई पर्यो काले’ मा स्वर दिएका छन्। सिनेमामा समावेश ‘मायाले मलाई’ बोलको गीतको रेकर्डिङ सोमबार गरिएको हो। गायक परियारले पढाइका कारण र स्वर बदलिएका कारण आफूले केही समय सिनेमाको पाश्र्व गायनमा आवाज नदिएको बताए।
प्रेमले भने–‘यो गीतको शब्द सुन्ने वित्तिकै मन पर्यो । आशा छ, मलाई प्रतिक्षा गर्नुभएका दर्शकहरुले यो गीत मन पराउनुहुनेछ । गीत गाउन थालेपछि आफ्नो जीवनशैली पनि बदलिएको भन्दै उनले अब फेरि दर्शकका लागि कर्णप्रिय गीत सार्वजनिक गर्ने बताए।
सिनेमा ‘नाई नभन्नु ल २’ मा समावेश ‘मर्ने कसैलाई रहर हुँदैन’ बोलको गीत गाएपछि बाल–गायक प्रेम परियार चर्चामा आएका थिए।
सामाजिक संजालमा भाइरल भएपछि उनलाई निर्देशक विकासराज आचार्य र संगीतकार बसन्त सापकोटाले सिनेमाका लागि अवसर दिएका थिए। उनले आफ्नो स्वरको जादु दर्शकमाझ छरे।
तर, केही समय उनी सिनेमाको गीतबाट हराएका थिए ।
रघु परियारको शब्द रहेको गीतमा पुरुषोत्तम न्यौपानेको शब्द रहेको छ । यो गीतमा चलचित्रका मुख्य दुई कलाकार नायक सौगात मल्ल र नायिका पूजा शर्मालाई फिचरिङ गरिएको छ । शिशिर राणाको कथा तथा निर्देशनमा तयार भएको चलचित्रका प्रस्तुतकर्ता किरण नेपाली हुन् । चलचित्रमा आकाश श्रेष्ठ, श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर लगायतका कलाकारको पनि मुख्य भूमिका छ । यो चलचित्र कात्तिक ८ गतेबाट रिलिज हुँदैछ । कमेडी जनरामा निर्माण भएको यो चलचित्रले श्रीमान् ‘काले’ परेपछि एक यूवतीको जीवनमा आउने उतार चढावको कथालाई प्रस्तुत गर्नेछ ।
स्रोत :- enter10nepal

