
हेटौंडा
चलचित्र पत्रकार संघ नेपाल मकवानपुरले तत्कालीन चलचित्र विकास बोर्डका अध्यक्ष स्वर्गिय केशव भट्टराईको परिवारलाई एक लाख एक हजार रुपैयाँ सहयोग गरेको छ ।
संघको चौँथो अधिवेशन तथा अन्र्तक्रिया कार्यक्रमममा केशव भट्टराई परिबार सहयोग समितिका संयोजक एवं चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईलाई चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले चेक हस्तान्तरण गरेका थिए। भट्टराईको केही समयअघि हृदयघातका कारण निधन भएको थियो ।यस्तै, चलचित्र पत्रकार संघ मकवानपुरको चौथो अधिवेशनले मणिराज गौतमको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलले मकवानपुरलाई चलचित्र छायांकन नगरी बनाउन उपयुक्त ठाँउहरू रहेको बताएका छन्। प्राकृतिकरूपमा सुन्दर रहेको भन्दै बागमती प्रदेशको राजधानी भइसकेकाले यहाँका सुन्दर ठाँउहरूलाई चलचित्रमा कैद गरेर हेटौँडाको सुन्दरर्ता प्रस्तुत गर्न चलचित्रकर्मीलाई आग्रह गरे। उनले प्रदेशमा ज्येष्ठ पत्रकार र महिला पत्रकारको हितका निम्ति काम गर्न लागिएको बताए। संघीय तहमा पत्रकार कल्याणकारी कोषभन्दा आफूहरूले बनाएको कार्यविधि महत्वपूर्ण रहेको बताए। कानून निर्माण नगरीकन पैसा खर्च गर्नका लागि समस्या रहेको बताउँदै उनले भने, ‘संसदबाट कानून पास भएर खर्च गर्दा पनि अर्थ मन्त्रालयले पैसा खर्च गर्न दिन पनि समस्या छ।’
कार्यक्रममा चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईले मोफसलमा चलचित्र क्षेत्रको बिस्तारमा संचारकर्मीको ठूलो भूमिका रहेको बताए। विदेशी चलचित्रलाई भन्दा नेपाली चलचित्रलाई बढीमात्रमा प्राथमिकता दिएमा यसको विकास विस्तार बढने बताए। चलचित्र विकास बोर्डका सदस्य नरेन्द्र महर्जनले मोफसलमा चलचित्रको विस्तारमा विकास बोर्डले भूमिका खेल्न विभिन्न कार्यक्रमहरू ल्याएन लागेको बताए। उनले स्तरीय चलचित्र बनाउन पनि चलचित्रकर्मीमा आग्रह गरे। कार्यक्रममा नेपाल पत्रकार महासंघका बागमती प्रदेशका अध्यक्ष प्रताप विष्ट, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईं, चलचित्र संघका द्वितीय उपाध्यक्ष कुबेर शर्मा, चलचित्र पत्रकार संघका केन्द्रीय महासचिव अनिल यादव, सचिव समिर बलामी, बैकुन्ठ पराजुली सहकोषाध्यक्ष जीवन पराजुलीलगायतले मन्तव्य व्यक्त गरेका थिए।

