नेपाल आइडलले भेटेको प्रतिभा

हेटौडा टुडे
८ चैत्र २०७६, शनिबार १९:५०

२०६३/०६४ सालको कुनै एक दिन स्वस्तिकाको लागि अविस्मरणीय रह्यो । हेटौंडाको हिमगंगा प्राथमिक विद्यालयमा कक्षा ४ मा पढ्दै गरेकी उनको लागि त्यो दिन जीवनकै महत्वपूर्ण ‘टर्निङ प्वाइन्ट’ सावित भयो ।

अंग्रेजी विषयको घण्टीमा कक्षाकोठामा शिक्षिका अस्मिता खड्काको प्रवेश हुन्छ । त्यो दिन किन हो कुन्नी ती शिक्षिकाले पाठ अगाडि बढाउँदिनन् । बरु कक्षामा उपस्थित भएका सबै विद्यार्थीलाई पालैपालो गीत गाउन अनि कथा वा चुट्किला सुनाउन भन्छिन् । त्यत्तिकैमा स्वस्तिकाको पालो आउँछ ।

उनले भाका र लय मिलाएर गाएको सुनेर सबै तीन छक पर्छन् । पहिले तिनै शिक्षिकाले ताली पिट्छिन्, त्यसपछि उनका साथीहरूले । कक्षाकोठामा केवल तालीकै गडगडाहट गुञ्जिन्छ । त्यो कक्षाभित्र रहेका विद्यार्थीहरू र शिक्षिकाले सायदै कल्पना गरेका थिए होलान् कि तिनै सानी स्वस्तिका भविष्यमा एक दिन गायिका बन्नेछिन् ।

नेपाल आइडलको दोस्रो र तेस्रो संस्करणकी सहभागी स्वस्तिका ढकाल ती शिक्षिकालाई यसरी सम्झन्छिन्, “अस्मिता म्याम आफू पनि मीठो गाउनुहुन्थ्यो । मैले गाएको सुनेपछि म्यामले तिमीले गाउन नछोड्नू भन्नुभएको थियो ।” आफू सांगीतिक क्षेत्रमा लाग्नु पछाडिको श्रेय उनी अस्मिता ‘म्याम’लाई दिन्छिन् । “सायद उहाँले ममा केही देखेरै गाउन नछाडे भन्नुभएको होला”, स्वस्तिका सुनाउँछिन् ।

कक्षा ५ सम्म हिमगंगा विद्यालयमै पढेकी उनले त्यसपछि विद्यालय फेरिन् । तर, उनको गीत गाउने रुचि भने कहिल्यै फेरिएन । गायनप्रति उनी झन्भन्दा झन् आकर्षित हुँदै गइन् । त्यसपछि त उनले विद्यालयमा हुने हरेक सांस्कृतिक कार्यक्रमहरूमा पनि गीत गाउन थालिन् । त्यसपछि त विद्यालयमा हुने हरेक सांस्कृतिक कार्यक्रमहरूमा प्रस्तुति देखाउने स्वस्तिका पहिलो रोजाइकी विद्यार्थी बन्न थालिन् ।

स्वस्तिकाको परिवारमा आमाबुबा, एक दाजु र एक भाइ छन् । सुरुमा स्वस्तिकाको संगीतप्रतिको झुकावलाई उनका अभिभावकले खासै रुचाएका थिएनन् । ई–रिक्सा चलाएर परिवारको पेट पाल्दै आएका स्वस्तिकाका बाबुले छोरीले पढेरै केही गरोस् भन्ने सोचाइ राख्ने गरेका थिए । स्वस्तिकाले केही वर्षपछि चन्द्रोदय माविबाट कक्षा १० अर्थात एसएलसी उत्तीर्ण गरिन् ।

सानो छँदा संगीतलाई सामान्य तरिकाले हेर्दै आएकी स्वस्तिकालाई अब संगीतको गहिराइ नाप्न मन लाग्न थाल्यो । त्यसपछि उनको मनमा यस्तै प्रश्न खेल्न थाले, संगीतमा किन यति धेरै मिठास छ रु संगीत वास्तवमा के हो रु उनले बिस्तारै सोच्न थालिन् कि, यी प्रश्नहरूको उत्तर केवल संगीत विद्यालयमा मात्रै पाउन सम्भव छ ।

उनले मनमनै संगीत विद्यालयमा गायनको कक्षा लिने बारेमा सोचिन् । तर, उनलाई भित्रभित्रै एउटा कुराको डरले सताउन थाल्यो । आमाबाबुलाई आफ्नो रुचिको बारेमा कसरी प्रष्ट पार्ने रु उनीहरूलाई कसरी मनाउने रु संगीतको कक्षामा उपस्थित हुन आमाबुबाले अनुमति दिनु हुँदैन भन्ने कुरा उनले राम्रोसँग बुझेकी थिइन् । त्यसपछि उनले आमाबाबुलाई ढाटेर संगीत सिक्ने विचार गरिन् । “गायन सिक्न भनेर बुबासँग खर्च माग्न आँट नै आएन ।

बुबासँग कम्प्युटर सिक्छु भनेर पैसा मागेकी थिएँ”, रोकिँदै स्वस्तिकाले सुनाइन् । बुबासँग कम्प्युटर सिक्न भनेर मागेको पैसाले उनी हेटौंडाकै राजदेवी संगीत पाठशालामा भर्ना भइन् । उनलाई गायन सिकाउने गुरु जीवन विष्ट थिए । त्यसबेला मासिक पाँच सय रुपैयाँ तिरेर गायन सिकेको उनी बताउँछिन् ।

“एसएलसीपछि करिब डेढ वर्ष गायन सिकेँ । महिनाको पाँच सय रुपैयाँ शुल्क थियो । छ महिनाको भने बुझाउन सकिनँ”, स्वस्तिकाले सुनाइन् । सुरुसुरुमा बुबासँग ढाँटेर मागेको पैसा बुझाएकी उनले फेरिफेरि बुबालाई ढाँट्ने साहस गर्न सकिनन् । थोरै बहुत खर्च जुटाउन त उनले दिउँसो टेलरिङको काम पनि गर्थिन् ।

बिहानको विद्यालय र बेलुकाको संगीतको कक्षा उनले जेनतेन त्यही खर्चले धानेकी थिइन् । तर त्यो कमाई सधैं पर्याप्त भने हुँदैनथ्यो । संगीत सिकेर घर आउँदा कहिलेकाहीँ रात पथ्र्यो । उनी डराइडराइ एक्लै घर पुग्थिन् ।

परिश्रमी स्वस्तिकाले चन्द्रोदय माविबाटै कक्षा १२ पनि पूरा गरिन् । पढाइ राम्रो भएकाले छोरीले अझै मिहिनेत गरी पढेर कुनै बैंक वा वित्तीय संस्थामा जागिर गरोस् भन्ने इच्छा उनका बाबुआमाले पालेका थिए । सोही क्रममा बिजनेस स्टडिज् विषयमा स्नातक तह अध्ययन गर्न उनी हेटौंडाकै मकवानपुर बहुमुखी क्याम्पसमा भर्ना भइन् ।

बुबालाई आर्थिक भार नपरोस् भनेर उनले पढाइ सँगै जागिरलाई पनि निरन्तरता दिइन् । उनले हेटौंडामै रहेको एक शैक्षिक परामर्श संस्थामा ‘फ्रन्ट डेस्क’ अफिसरको जागिर थालिन्, जहाँ उनी अहिले पनि आबद्ध छिन् । पढाइ र काम नभएका बेला उनलाई संगीतले नै व्यस्त गराउँथ्यो ।

भर्खर–भर्खर सुरु भएको नेपाल आइडल संगीतका पारखीहरूमाझ लोकप्रिय बन्दै थियो । स्नातक तेस्रो वर्ष अध्ययन गर्दैगर्दा नेपाल आइडलको दोस्रो सिजनको अडिसन हेटौंडामा पनि हुँदैछ रे भन्ने स्वस्तिकाले समाचारमार्फत थाहा पाइन् । मनमा अनगिन्ती सपना अनि दृढ अठोट बोकेर अडिसन दिन स्वस्तिका सामना होटेल पुगिन् ।

भीडमा थुप्रै प्रतिस्पर्धी अनि सबैको एउटै लक्ष्य, स्वस्तिका त्यही भीडबीच एउटी थिइन् । सयौं जनापछि उनको प्रस्तुति देखाउने पालो आयो । उत्सुक र डर मिश्रित भावका साथ उनी निर्णायकहरूको माझ पुगिन् । हातमा माइक परेपछि उनले यसरी खुलेर गाइन् कि निर्णायक उनको स्वरमा मन्त्रमुग्ध भए अनि उनीभित्रको डर स्वतः गायब भयो ।

उनले एडिसनमा गाएको ‘पहिलो माया यस्तै हो कि’ गीतले उनलाई संसारभर रहेका नेपालीबीच परिचित गराइदियो । उनी अघिल्लो चरणका लागि छनौट भइन् ।

“नेपाल आइडलका अघिल्ला चरणहरूमा पुग्दा प्रशंसकहरू बढ्दै जानुभयो”, उनी सुनाउँछिन्, “आफ्नै घर वरिपरि छिमेकमा पनि धेरैसँग चिनजान हुन थाल्यो जोसँग पहिले कहिल्यै चिनजान नै थिएन ।” जब–जब नेपाल आइडलको कुनै भाग टेलिभिजन वा युट्युबबाट प्रसारण हुन्थ्यो, तब–तब उनको गायकी मन पराएर धेरैले मेसेजहरू पठाउने गर्दथे ।
स्वरमा मिठास हुँदाहुँदै पनि नेपाल आइडलको दोश्रो संस्करणमा टप २० मा पुगेपछि उनी बाहिरिन पुगिन् । तर, पनि स्वस्तिका त्यसबाट विचलित भइनन् । उनी भन्छिन्, “आइडलको काम प्रतिभा खोज्ने मात्रै हो । सीप र कलालाई परिस्कृत बनाउने पाटो आफ्नो हो । सायद मैले सुधार गर्नुपर्ने पक्ष धेरै थिए होलान् ।”

स्वस्तिकाको स्वर मात्रै होइन बोल्ने शैली पनि उस्तै मीठो छ । सबैसँग नरम तरिकाले प्रस्तुत हुने उनी कतिबेला के बोल्नुपर्छ भन्ने कुरासँग राम्ररी जानकार छिन् । “नेपाल आइडलले मलाई केही अनुशासित हुन सिकायो । यद्यपि बोल्नमा भने म सानैदेखि रुचि राख्थेँ”, उनले भनिन् । सानो छँदा कक्षामा शिक्षकशिक्षिकाले सोधेका उत्तर पनि स्वस्तिकाले नै बेञ्चबाट उठेर सुरुमा सुनाउँथिन् ।

नेपाल आइडलको दोस्रो संस्करणबाट बाहिरिएपछि उनले फेरि पढाइलाई निरन्तरता दिइन् । बीबीएसको पढाइ पूरा गरेर मकवानपुर बहुमुखी क्याम्पसमै एमबीएस अध्ययनका लागि भर्ना भइन् । साथमा जागिर त छँदै थियो । यसबीचमा स्वस्तिकाले विभिन्न सांगीतिक कार्यक्रममा समेत भाग लिइन् । विभिन्न चाडपर्व तथा महोत्सवका अवसरमा आयोजना हुने ससाना कन्सर्टमा पनि उनलाई निमन्त्रणा आउन थाले । दिन र महिनाहरू बित्दै गए ।

तेस्रो संस्करणको नेपाल आइडलका लागि फेरि विज्ञापन प्रकाशित भयो । स्वस्तिकाले यसपटक पनि हार नमान्ने संकल्प गरिन्, अनि दोस्रोपटक अडिसन दिन वीरगञ्ज पुगिन् । लोक भाका गुन्गुनाउन मन पराउने स्वस्तिकाले यहाँ पनि लोक भाकाकै ‘सालैजो’ गाएर सुनाइन् । अनुभव र मिहिनेत थपिएकाले उनको स्वरमा अझै धेरै निखार आएको थाहा हुन्थ्यो ।

उनी दोस्रोपटक नेपाल आइडलको अडिसन राउण्ड पार गर्न सफल भइन् । “नेपाल आइडलले त मजस्तालाई बाटो मात्रै देखाउने काम गर्छ । बाँकी काम त आफैँ गर्नुपर्ने हुन्छ”, उनी सुनाउँछिन् । तेस्रो सिजनमा स्वस्तिकाले अझै दमदार प्रस्तुतिहरू देखाइन् । अघिल्लो चरणमा टप २० मा रोकिएकी उनी यसपटक भने टप १२ मै पुगिन् । कला र गला राम्रो हुँदाहुँदै पनि उनलाई भोटले हरायो ।

दुुई पटक नेपाल आइडल बन्ने होडमा हारेकी उनमा कत्ति पनि निराशा र गुनासा छैनन् । बस उनी गायिका बन्नेमा पहिले भन्दा अझै बढी आशावादी छिन् । “भयंकर ठूली गायिका बनुँला भनेर न पहिले सोच्थेँ, न त अहिले नै सोचेकी छु । नेपाल आइडल यात्रा टुंगिए पनि संगीतप्रतिको लगाव टुंगिएको छैन । जीवनमा जति पाइन्छ, त्यतिमै रमाउने कोसिस गर्नेछु”, रोकिँदै उनले भनिन्, “अरु केही गर्न नसके पनि गाएर कमाएको पैसाले आमाबुबाका लागि सानो घर मात्रै भए पनि बनाउन सकूँ भन्ने साँचेकी छु ।” यो समाचार हामीले कायाकैरन डटकमबाट साभार गरेका हौँ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*