
बैशाख ८,हेटौंडा /कोरोना भाईरस (कोभिड-१९) को संक्रमण रोक्नका लागि नेपाल सरकारले देशभर लकडाउन गरेको आज २८ औं दिन भएको छ ।लकडाउनका कारण कैयौं मजदुरको काम रोकिएकोले दैनिक गुजारा चलाउन समेत कठिनाई भएको छ । सरकारले त्यसरी अप्ठ्यारोमा परेकाहरुको सुची बनाउन लगाएर स्थानिय तहमार्फत राहत समेत वितरण गरिरहेको छ । त्यसैगरी, विभिन्न संघ संस्थाले पनि राहत वितरणमा सहयोग गरिरहेका छन् ।
यस्तो विषम परिस्थितिमा पनि बैंक अफ काठमान्डू आफ्ना सेवाग्राहीलगायत जनताको साथमा रहेको हेटौंडा शाखा प्रमुख रमेश प्याकुरेलले बताएका छन् ।
उनले प्रत्येक सेवाग्राहीको लागि ग्राउन्ड फ्लोरमा हात धुने साबुन पानी व्यवस्था गरेको छ भने बैंकमा प्रवेश गर्ने समयमा स्यानिटाईजरको व्यवस्था समेत गरेको छ । त्यस्तै, कर्मचारी र सेवाग्राहीबिचको दुरीका साथै प्रत्येक सेवाग्राहीहरुबिचको दुरी ख्याल गरि करिब २ मिटरको दुरि कायम गरि एकपटकमा १० जनालाई मात्र प्रवेश गराईएको छ ।
प्रमुख प्याकुरेलका अनुसार नेपाल राष्ट्र बैंकले एकपटकमा ९ लाख रुपैयाँ मात्र दिने भनेतापनी लकडाउनको समयमा राहत वितरणका लागि निकाशा मागिएको रकम जत्ती पनि दिने व्यवस्था मिलाईएको छ ।
उनले बैंकमा जम्मा गरिने वा निकाशा गरिने धेरै रकममा पनि स्प्रे गरेर लिने र दिने गरेको बताए ।समय-समयमा बैंकभित्र स्प्रे गर्नुका साथै एटीएम बुथमा पनि स्यानिटाईजर राखिएको छ ।
प्रमुख प्याकुरेलले बुथमा शाखा प्रमुखको नाम र नम्बर पनि राखिएको जानकारी दिदै जसलाई जत्ती बेला समस्या परेमा पनि सम्पर्क गर्ने व्यवस्था मिलाईएको जानकारी दिए ।

