साउन १३,हेटाैंडा/मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका–३ मा नेपाल कम्युनिष्ट पार्टी र राप्रपा परित्याग गरी एक सय जना नेता कार्यकर्ता नेपाली काँग्रेसमा पवेश गरेका छन् ।
मंगलबार वडाको सिस्नेरीमा भएको भेलामा नेपाली काँग्रेस मकवानपुरका सभापति एवम् नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले उनीहरुलाई खादा अबीर लगाएर स्वागत गर्दै पार्टी सदस्यता प्रदान गरेका हुन् । नवआगन्तुकलाई पार्टी सदस्यता वितरण गर्दै बानियाँले कम्युनिष्ट पार्टीले जनतालाई भ्रममा राखेर झुठको खेती गरेको भन्दै अब जनताले उनीहरुलाई साथ नदिने बताए । कम्युनिष्टहरुमा लाग्ने टाठाबाठाहरु आफू नेता बनेर सोझा जनतालाई भने झुक्याइरहेको बानियाँले बताए ।
भेलाले राजाराम बानियाँको सभापतित्वमा १९ सदस्यीय वडा समितिसमेत गठन गरेको छ । जसको उपसभापतिमा बिनोद बस्ताकोटी र किशोर बस्ताकोटी, सचिवमा कृष्णहरि थापामगर, कोषाध्यक्ष धर्मेन्द्र मोक्तान र सहसचिवमा दिनेश गजमेर रहेका छन् ।
यस्तै भेलाले किशोर वाइबा तामाङको संयोजकत्वमा १७ सदस्यीय तरुण तल समितिसमेत गठन गरिएको छ । जसको उपाध्यक्षमा सरोज थिङ, सचिवमा दिनेश अधिकारी र कोषाध्यक्षमा सविन बस्ताकोटी चयन भएका छन् । त्यस्तै रजिना रानामगरको संयोजकत्वमा १० सदस्यीय महिला समितिसमेत गठन गरिएको छ । जसको उपसंयोजकमा जुमा लामा, सचिवमा लक्ष्मी गोले, सहसचिवमा सुमित्रा नगरकोटी र कोषाध्यक्षमा चिनिमाया राणा चयन भएकी छन् ।
नेपाली काँग्रेस ईन्द्रसरोबर गाउँपालिका सभापति विश्वलाल लामाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी जिल्ला सभापति बानियाँको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पार्टीको संघीयतर्फको २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटा, जिल्ला सदस्य तथा ईन्द्रसरोबर गाउँपालिका–१ का निर्वाचित वडाध्यक्ष जमानसिं वाइबा, महासमिति सदस्य तथा ईन्द्रसरोबर गाउँपालिकाको लागि जिल्ला प्रतिनिधि दिनेश उपाध्याय, पार्टी हेटौंडा उपमहानगरपालिका सभापति आनन्दराम पराजुली, ईन्द्रसरोबर गाउँपालिकाका उपसभापति कृष्ण महर्जन, सहसचिव विष्णुकुमार कार्की, ४ नम्बर वडाका पार्टी सभापति राजाराम बानियाँ, तरुण दलका क्षेत्रीय अध्यक्ष सुमन श्रेष्ठ, तरुण दलका केन्द्रीय पार्षद् विकास बलामी, तरुण दल गाउँपालिका अध्यक्ष कृष्ण बलामी, महिला संयोजक निर्मला रुम्बालगायतको आतिथ्यता रहेको थियो ।