सामरी खोलामा तुइनको भर अझै कतिन्जेल ? ‘रामनाम’ जप्दै खोला तर्छन् स्थानीय

हेटौंडा टुडे
७ भाद्र २०७७, आईतवार १०:२९

हेटौंडा /मकवानपुरगढी गाउँपालिका वडा नम्वर ३ कालिखोला र वडा नम्वर ५ भालुखोला जोड्ने पक्की पुल निर्माणको काम अझै अलपत्र अवस्थामा छ ।

तत्कालिन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तरगत जिल्ला विकास समिति मकवानपुरले नागार्जुन शंखरमाली जेभी नामक निर्माण व्यवसायी कम्पनीलाई १५ महिनाभित्र पुल निर्माण गरिसक्नुपर्ने गरी निर्माणको जिम्मा थियो, तर निर्माण व्यवसायी कम्पनीको लापरबाहीका कारण हालसम्म निर्माणको ५० प्रतिशत कामसमेत भएको छैन ।

ठेक्का सम्झौता भएको ४ बर्ष बितिसक्दासमेत १०३ मिटर लम्बाइको सो पुल निर्माण हुन सकेको छैन । जसका कारण मकवानपुरगढी वडा नम्वर ३,४ र ५ का वासिन्दाले निकै सास्ती खेप्नु परेको छ ।

खोलामा पुलका लागि केही पिल्लरहरु ठडिएका छन्, रड ठड्याइएको छ । निर्माण स्थलमा निर्माण सामग्री यत्रतत्र छरिएका छन्, पुल अलपत्र अवस्थामा छ ।

‘पुल निर्माणको लागि म्याद थप्ने, लगानी बृद्धि गर्ने र असार मसान्तमा सरकारी निकायबाट निर्माण व्यवसायीले रकम लिने काम धेरै पटक भयो, तर पुल अझै बन्न सकेन’ – स्थानीय बद्री सापकोटाले भने ।

पुल निर्माण होला र सोही पुलबाट ओहोर दोहोर गरौँला बनेर बसेका स्थानीयहरु अहिले पुल बन्छ भनेर पत्याउन पनि छाडिसके ।

‘रामनाम’ जप्दै खोला तर्छन् स्थानीय

मकवानपुरगढी गाउँपालिका वडा नम्वर ३ र ४ का अधिकाँश जनता कृषि तथा पशुपालनका भरमा जीविका चलाउँछन् । वडा नम्वर ५ मा रहेको उज्ज्वल दूग्ध उत्पादक सहकारीमा दूध बेच्न जानु उनीहरुको दैनिकी हो ।

दूध बेच्न जाँदा बाटोमा सामरी खोला पर्छ । हिउँदमा त जसोतसो तर्न सकिन्छ, तर बर्षातको समयमा भने स्थानीयहरु ‘रामनाम’ जप्दै खोलामा पस्छन् ।

खोलाले पशु चौपाय र मानिसलाई समेत धेरै पटक बगाएको स्थानीयहरु बताउँछन् ।

‘अलि उमेरका मान्छेहरु तुइन चलेका बेला त्यसैबाट वारीपारी गर्छन्, तर आफु बुढो मान्छे तुइन तान्न पनि सक्दिन पुल पनि कहिल्यै बनेन, धादिङ बजार पनि परदेश जस्तै भएको छ – स्थानीय ऋषिप्रसाद धिमालले गुनासो गरे ।

‘दूध बेच्न डेरी गएका घरका मान्छे सकुसल फर्कन्छन् वा फर्कन्नन् भन्ने चिन्ता भइरहन्छ’ – उनले थपे ।

त्यसो त वडा नम्वर ३ र ४ का विद्यार्थीहरु पनि सोही खोला तरेर वडा नम्वर ५ मा रहेको सारदा माविमा अध्ययनका लागि जानुपर्ने बाध्यता छ । धेरै पटक विद्यालय पोशाक लगाएका विद्यार्थीहरु पनि बग्ने गरेका छन् ।

हामीले ताकेता गरिरहेका छौँ – वडाअध्यक्ष घिमिरे

मकवानपुरगढी ३ का वडाअध्यक्ष भागवत भिमिरेले आफु निर्वाचित भएर आएपछि पुल निर्माणको जिम्मा पाएको निर्माण व्यवसायी कम्पनीलाई पटक–पटक ताकेता गरिरहेको गरेको बताए ।

‘हामीले ताकेता गरेपछि निर्माणको काम केही हदसम्म अघि बढ्छ, अनि फेरी रोकिन्छ ।’ – उनले भने ।

पुल नबन्दा आफ्ना वडावासीले सास्ती खेप्नु परिरहेको बताउँदै सो पुल छिटो सम्पन्न गराउन आफु लागिपर्ने उनले बताए ।

अझै तुइनको भर

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ असोज २५ गते २ वर्षभित्र देशभरका तुइन विस्थापित गर्ने निर्णय गरेका थिए ।

तर, उक्त निर्णय भएको ५ बर्ष पुग्दा समेत मकवानपुरगढी गाउँपालिकाका जनता तुइनको भरमा खोला तर्न बाध्य छन् ।

गढी ३ र ५ जोड्ने करिब २ दशकअघि निर्माण गरिएको तुइन अहिले जीर्ण अवस्थामा छ । सोही तुइनबाट खसेर स्थानीय एक जना महिलाले करिब एक महिना अघि ज्यान गुमाएकी थिइन् ।

जीर्ण अवस्थाको तुइनमा समस्याहरु आइरहन्छन् तर बिकल्प नभएकै कारण स्थानीयले मर्मत गर्दै सोही तुइनको माध्ययमबाट खोला वारपार गर्न बाध्य छन् ।
त्यसो त सो तुइन पनि सबैलाई पाएक पर्ने स्थानमा नभएको स्थानीयहरु बताउँछन् ।

अझै कतिले ज्यान गुमाउनु पर्ला ?

हिजो सामरी खोलाले बगाएको मृत तस्बीर

हिजो शनिवार विहान मात्रै सामरी खोलाले बगाउँदा मकवानपुरगढी गाउँपालिका वडा नम्वर ३ झल्ला स्थित ५३ बर्षका लालबहादुर विश्वकर्माले ज्यान गुमाए ।

दूध बेचेर घर फर्कदैँ गर्दा उनलाई सामरी खोलाले बगाएको थियो । करिब ५ सय मिटर खोलाले बगाएपछि उनको शव भेटिएको स्थानीय कृष्ण प्रसाद कँडेलले जानकारी दिएका छन् ।

लालबहादुर त उदाहरण मात्रै हुन् सामरी खोलाले बगाउँदा बर्षेनी धेरैले ज्यान गुमाएका छन् ।
स्थानीयहरुले सोध्ने गरेका छन् – लालबहादुर जस्ता अझै कतिले ज्यान गुमाउनु पर्ला ?

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*