प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न- डा केसीसँग कुरै नगर्ने बरु कात्रो पठाउने तयारी हो ?

टुडे संवादाता
२१ आश्विन २०७७, बुधबार १५:०४

काठमाडौं/प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अनसनरत डा गोविन्द केसीका मागप्रति सरकार गम्भीरु नबनेको आरोप लगाएको छ ।

सरकारले डा केसीको जायज आवाजलाई सम्बोधन गर्न ढिलाइ गर्ने गम्भीर भुल किमार्थ गर्न नहुने कांग्रेसले जनाएको छ ।

काग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै डा केसीसँग सरकारले कुरै नगर्ने बरु कात्रो पठाउने तयारी गरेको हो भन्दै प्रश्न गरेका छन् ।

यस्तो छ शर्माले जारी गरेको विज्ञप्ति

——प्रधानमन्त्रीलाई गम्भीर प्रश्न——

डा.के.सी.सँग कुरै नगर्ने बरु कात्रो पठाउने तयारी हो ?
सम्माननीय प्रधानमन्त्रीज्यू !

डा. गोविन्द के.सी. अनशनमा बस्नु भएको आज २४ दिन पुग्यो । वार्ता समिति सम्म गठन गर्नुभएको छैन । कुनै बेला कमरेड प्रचण्डहरुको बन्दुकको विद्रोहलाई कटु आलोचना गर्नु हुन्थ्यो त्यो स्वभाविक थियो, अब अनशन जस्तो शान्तिपूर्ण सत्याग्रहलाई समेत सुन्न अस्वीकार्य गर्दै हुनुहुन्छ ।

खुल्ला ढंगले के यो सन्देश दिन चाहनु भएको हो कि— लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित हुनु र लोकतान्त्रिक चरीत्रको हुनुमा फरक हुन्छ ?
नेपाली कांग्रेसको पालामा डा. के.सी. अनशन बस्दा, वार्ता गरिए, कयौं माग पूरा गरिए ।

चाहे श्री सुशील कोइराला नेतृत्वको सरकारले उच्च स्तरीय कार्यदल बनाएर होस् या श्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेश जारी गरेर होस, संवाद मार्फत उहाँका माग पूरा गरिए ।

तर यहाँले उसबेला पूरा गरिएका माग एकातर्फ उल्टाउनु भयो अर्कातर्फ नयाँ सन्दर्भमा अघि सारिएका माग बारे संवाद मार्फत समाधान खोज्ने लोकतान्त्रिक संस्कार यहाँमा भएन ।

सत्याग्रहीलाई दुव्र्यवहार देखि, सत्ताको अहंकार सम्मले कम्युनिष्ट तन्त्रको मनोबिज्ञानलाई मात्रै पुष्टि गरेका छन् ।

डा. के.सी.को स्वास्थ स्थिति जटिल बन्दै गएको छ । वार्ता नगर्ने बालुवाटारे बालहठ यहाँलाई महंगो पर्नेछ प्रधानमन्त्रीज्यू ।

हेक्का रहोस् लोकतन्त्र भर्सेस ‘कम्युनिष्टतन्त्र’ मा अन्ततः जित लोकतन्त्रकै हुनेछ । डा. के.सी. को जायज आवाजलाई सम्बोधन गर्न ढिलाइ गर्ने गम्भीर भुल किमार्थ नगरियोस् ।

जय नेपाल !

विश्वप्रकाश शर्मा
प्रवक्ता एवं प्रमुख
सूचना, संचार तथा प्रचार विभाग

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*