हेटौंडा/नवयुवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरस्थित नवयुवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कारोना भाइरस (कोभिड–१९) को जोखिमका बेला नयाँ कार्यविधिअनुसार १५ दिनको अवधिमा सम्पन्न गरेको हो । सेयर सदस्यहरुको उपस्थिति र सल्लाह सुझाव सङ्कलन एवम् सहकारीको प्रतिवेदनहरु असोज १७ गतेदेखि सुरु गरेर सहकारीले शनिबार एक कार्यक्रमका बीच सिमित व्यक्तिको उपस्थितिमा साधारणसभाको औपचारिक प्रक्रिया पूरा गरेको छ ।
सहकारीका अध्यक्ष हिमप्रसाद पौडेलको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष गोकर्णप्रसाद पराजुलीको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो । साधारणसभामा प्रतिवेदन प्रस्तुत गर्नुहुँदै सहकारीका अध्यक्ष हिमप्रसाद पौडेलले सहकारीमा एक हजार सात सय ७८ जना सेयर सदस्य रहेको जानकारी दिनुभयो । तीन करोड ३७ लाख ३३ हजार रुपैयाँ सेयर पुँजी भएको सहकारीले १७ करोड ५४ लाख रुपैयाँ बचत सङ्कलन गरेको छ भने १७ करोड ९१ लाख ४२ हजार रुपैयाँ ऋण लगानी गरेको छ । सहकारीका अध्यक्ष पौडेलले सबै सेयर सदस्यलाई चेकमार्फत कारोबार गर्ने व्यवस्था मिलाउने र कर्मचारीको क्षमता विकासका लागि प्रशिक्षण तथा कार्यशालाको आयोजना गर्ने बताउनुभएको छ ।
१५ दिनको अवधिमा करिब १४ सय सेयर सदस्यले उपस्थिति जनाएको सहकारीका व्यवस्थापक राजेश श्रेष्ठले जानकारी दिनुभयो । साधारणसभामा वडा अध्यक्ष गोकर्णप्रसाद पराजुलीले आर्थिक कारोबारसँगै सहकारीले सामाजिक सेवाको काममा वडा कार्यालयलाई गरेको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा थप सामाजिक काममा सहभागी हुन पनि आग्रह गर्नुभएको छ । कोरोना महामारीको समयमा वडा कार्यालयले आपत्कालिन रुपमा राहत वितरण गर्न सहकारीले निव्र्याजी ऋण उपलब्ध गराएको थियो । कार्यक्रममा मकवानपुर जिल्ल बचत तथा ऋण सहकारी सङ्घ लिमिटेडकी अध्यक्ष कल्पना श्रेष्ठले साधारणसभा सञ्चालन सम्बन्धमा सहकारीलाई आवश्यक सुझाव तथा निर्देशन दिनुभयो ।
सहकारीले कोरोना कहरका बेला स्वयम्सेवी भूमिका निर्वाह गर्नुभएकी संगीता उप्रेतीलाई नगदसहित सम्मान समेत गरेको छ । कार्यक्रममा वडा सदस्यहरु रामचन्द्र न्यौपाने, जुना दाहाल, बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष शर्मिला श्रेष्ठ, उपयोगी सहश्राव्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष दिनेश विडारीको पनि उपस्थिति रहेको थियो ।