हेटौँडा/मकवानपुर प्रहरीले अवैध लागु औषधसहित ५ जनालाई पक्राउ गरेको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा १५ चुरिया र रातोमाटेबाट लागुऔषधसहित हेटौँडाका ५ जनालाई ईलाका प्रहरी कार्यालय पशुपतिनगरले मंगलबार राति पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा खटि गएको प्रहरीको चेकिङ तथा गस्ती टोलीले मंगलबार राति विरगंज तर्फबाट हेटौँडा तर्फ आउँदै गरेको ना २५ प ६९५७ नम्बरको मोटरसाइकललाई रोकि चेकजाँच गर्दा २७५ पिस नाइट्रोभेट सहित मोटरसाइकल चालक हेटौँडा ३ का ३९ वर्षीय दिनेश भण्डारी र मोटरसाइकलमा सवार हेटौँडा ११ का ४० बर्षीय सिताराम लामिछानेलाई पक्राउ गरिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताएका छन्।
त्यसैगरी मंगलबार रातिनै हेटौँडा-८ र १५ को सिमानामा संकास्पद अवस्थामा हिडिरहेको १ महिला सहित २ पुरुष प्रहरीलाई देखेर भाग्न खोज्दा नियन्त्रणमा लिएर चेकजाँच गर्दा लागुऔषध बरामद गरिएपछि पक्राउ गरेको हो। पक्राउ पर्नेमा ९५ पिस नाइट्रोभेट सहित हेटौँडा-१७ हटियामा २७ बर्षीय दिपेश भुजेल,त्यसैगरी १३ एम्फुल डाइजोपाम,१६ एम्फुल फेनारगन,१५ एम्फुल नुरफिन सहित हेटौँडा-१० राप्तिरोडमा २६ बर्षीय एलिस श्रेष्ठ र ७५ एम्फुल नाइट्रोभेट सहित हेटौँडा-६ की २३ बर्षीया महिला नम्रता चौलागाईं रहेको डिएसपी रानाले बताएका छन् ।
उनिहरुसबैलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको र आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।ईलाका प्रहरी कार्यालय पशुपतिनगरले यस अघि लकडाउनका समयमा लागुऔषध ओसारपसारमा संलग्न र कारोबारीलाई पक्राउ गर्न सफल भएको थियो।