
हेटौंडा/ हेटौंडाको स्कुलरोड स्थित रियल युनिक कम्प्युटर इन्ष्टिच्यूटले पहिलो पटक मकवानपुरको विद्यार्थीहरुलाई “माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियनसीप-२०२१” मा सहभागी गराउनको लागि प्रतिस्पर्धा गराउने भएको छ । सोमबार न्युज क्लब नेपाल,हेटौंडा भएको पत्रकार सम्मेलनमा बोल्दै इन्ष्टिच्यूटका संचालक श्रमण कुमार श्रेष्ठले आउँदो सन् २०२१ मा हुन लागेको “माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियनसीप-२०२१” मा मकवानपुरका विद्यार्थीहरुलाई सहभागी गराउने उदेश्यले कार्यक्रमको आयोजना गर्न लागेको बताए ।
उनले प्रतिस्पर्धामा सहभागी हुनको लागि १३ वर्ष देखि २२ वर्ष सम्मका विद्यार्थीहरु सहभागिता हुन सक्ने उनले बताए । उनले प्रतिस्पर्धामा सहभागिता जनाउन चाहनेहरुको लागि आउँदो पुष १ गतेबाटनै रजिष्ट्रशन खुला हुने समेत बताए ।
उनले जिल्ला स्तरीय प्रतियोगिता संचालन गर्नको लागि ईन्ष्ट्रिच्युटले तयारी पुरा गरेको बताए । उनले प्रतियोगीतामा सहभागी हुने प्रत्येक विद्यार्थीले एक लाख ५० हजार बराबरको फाईदा पुग्ने बताए ।
उनले जिल्लाका सम्पूर्ण विद्यार्थीहरुलाई यो अवसरको फाईदा लिन समेत आग्रह गरे । कार्यक्रममा सहभागी हुन चाहनेहरुको लागी आवश्यक तालिमको व्यवस्था रहेको बताईएको छ । इन्ष्टिच्यूटले विभिन्न क्षेत्रका जनशक्तिको आवश्यकता पुरा गर्ने उदेश्यले २० भन्दा बढी कम्प्युटर कोर्षहरु साथै माईक्रोसफ्ट, एडब, एप्पल, सिई काउन्सिल आदिको अन्तराष्ट्रिय प्रमाणपत्रका कोर्षहरु समेत सञ्चालन गर्दै आइरहेको उनले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै दीप आईटी एण्ड एजुकेसनल कन्सल्टेन्सी तथा दीप कम्प्युटर इन्ष्ट्रिच्युटका संचालक दीपेन्द्र लामिछानेले कन्सल्टेन्सीले नेपालको ७७ वटै जिल्लाका विद्यार्थीहरु बिच प्रतिस्पर्धा गराउने बताए । उनले यस प्रतिस्पर्दाले विद्यार्थीको माइक्रोसफ्ट अफिस वर्ड, एक्सल र पावरपोइन्टमा सीप परीक्षण गर्ने र माईक्रोसफ्ट सर्टिफिकेशन उपलब्ध गराउने बताए । उनले भने,“जिल्ला स्तरको परीक्षा सफल गरेकाबाट छानिएका जिल्ला स्तरीय विजेताहरु नेशनल च्याम्पियनसीपका लागि पोखरा जानेछन् । \
पोखरामा ७७ जिल्लाबाट छानिएका ४ सय ६२ जना विजेताहरु बीच प्रतिस्पर्धा हुनेछ । पोखराबाट प्रत्येक विधाका २ जना गरी शीर्ष ६ जना विद्यार्थी वल्ड च्याम्पियनसीपमा नेपालको प्रतिनिधित्व गर्दै अमेरीकाको ओर्लान्डो, फ्लोरिडा जाने छन् । विगत १८ वर्ष देखी यस च्याम्पियनसीप भैरहेको र सन् २०२० मा १३५ देशका १० लाख भन्दा बढी विद्यार्थीले सहभागिता जनाएका थिए । यस प्रतियोगितामा नेपालले यस अघि २०१३ मा वल्ड च्याम्पियनसीपको उपाधि हासिल गरेको थियो ।” प्रतियोगितामा सहभागिताको लागि प्रति विद्यार्थी २ हजार १ सय ७० रुपैया शुल्क लाग्ने बताईएको छ ।

