राक्सिराङ गाउँपालिकामा मानवअधिकार समन्वय समिति गठन

हेटौडा टुडे
३० मंसिर २०७७, मंगलवार १९:३१

हेटौंडा/मकवानपुरको राक्सिराङ गाउँपालिकामा मानवअधिकार समन्वय समिति गठन भएको छ । राष्ट्रिय मानवअधिकार आयोग बाग्मती प्रदेशको आयोजना तथा राक्सिराङ गाउँपालिकाको संयोजनमा भएको मानवअधिकार सम्बन्धी एकदिने भेलाले पालिका स्तरीय मानवअधिकार कार्ययोजना कार्यान्वयनको लागि स्थानीय तह समन्वय समिति गठन गरेको हो ।
अति सिमान्तकृत समुदायको हक हित संरक्षणको लागि मानव अधिकार विषयक उक्त कार्यक्रम राष्ट्रिय जनवकालत मंच नेपाल (नाफान ) को सहकार्यमा सम्पन्न भएको थियो । गाउँपालिका क्षेत्रका जातजाति, स्थानीय संघसंस्था, मानव अधिकारकर्मी आदिको सहभागिता रहेको उक्त भेलामा आएका सहसचिव यज्ञप्रसाद अधिकारी, जनजाति महासङ्घका केन्द्रीय अध्यक्ष जगत बराम लगायतले मानव अधिकारका सवालमा प्रस्तुतिकरण गरेका थिए ।
पाँचवर्षे मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा राक्सिराङ गाउँपालिका बाग्मती प्रदेशमा पहिलो स्थानीय तह भएको आयोगका निर्देशक अधिकारीले बताएका छन । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको संयोजकत्व उक्त समन्वय समिति गठन भएको हो ।
समितिमा गाउँपालिका अध्यक्षसहित, सबै वडाका वडाध्यक्ष, नागरिक समाजका प्रतिनिधि सदस्य रहने र गाउँपालिकाका प्रशासकीय अधिकृत सदस्य सचिव रहने गरि समिति बनाइएको अध्यक्ष मल्लले बताए ।
उक्त छलफल कार्यक्रममा चेपाङ तथा तामाङ समुदायको जमिन अधिकार, बालबिबाह, शिक्षा, पोषण, खाद्यान्न, बाटोघाटो लगायतका विषयमा सहभागीहरुले जिज्ञासा राखेका थिए ।
पालिका स्तरमा गठित समन्वय समितिले आफ्नो कार्ययोजना बनाएर अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*