
हेटौंडा/मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ रमौलीमा एक दिने वातावरणिय संरक्षण तथा लैंगिकता र सामाजिक समावेशीकरण विषयमा अभिमुखिकरण कार्यक्रम भएको छ ।
महिला पत्रकारहरुको समुह सञ्चारिका समुहको आयोजनामा पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका विभिन्न सहभागितामुलक उपस्थितीमा हरियो वन कार्यक्रम अन्र्तगत कार्यक्रम भएको हो । सञ्चारिका समुह बागमती प्रदेशका संयोजक सरिता दाहालको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्ठको प्रमुख अतिथ्यता रहेको थियो ।
अभिमुखीकरण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष विष्ठले वातावरणिय संरक्षण तथा वन संरक्षणमा महिलाको सहभागिताको विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गरेकी थिइन् । उनले गाउँपालिकाले महिला संग सम्बन्धित उपभोक्ता समितिमा, विकास निर्माणको काममा, बजेट विनियोजनको विषयमा महिलाहरुको सहभागिता ५० प्रतिशत रहेको बताइन् ।
उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रालय बागमती प्रदेशका वन अधिकृत नवराज पुडासैनीले वन्यजन्तु संरक्षण किन ?, संरक्षणमा लैंगिकता र सामाजिक समावेशीकरणको अवस्थाको विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर तितुङ, सदस्यहरु, निकुञ्जका वन्यजन्तु पिडित परिवार, मध्यवर्ती क्षेत्रका विभिन्न समुहका पदाधिकारी, शिक्षक, समाजसेवी तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

