हेटौंडा/हेटौंडा ४ मा रहेको होटल सामनाको व्यवस्थापन सिद्धार्थ बिजनेश ग्रूप अफ हस्पिटालिटीले गर्ने भएको छ ।
शुक्रवार आज पत्रकार सम्मेलन गर्दै सामनाका डाईरेक्टर गौरव आचार्यले होटलले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीसंग व्यवस्थापकीय साझेदारी गरेको जानकारी दिएका छन् । उनले आजबाट ५ वर्षका लागि सिद्धार्थ बिजनेश ग्रूपसंग साझेदारी गरिएको जानकारी दिए।
होटलको ५८ वटा सुविधायुक्त कोठा, तालिम र पार्टीका लागि ३ वटा सभाहल, रेष्टुरेन्ट, बार, क्याफे, प्राइभेट डाइनिङ रुम, स्वीमिङ पुल भएको सामनाले सेवा, सुविधामा अभिवृद्धि गर्ने गरी सिद्धार्थ बिजनेश ग्रूपसँग साझेदारी गरेको डाईरेक्टर आचार्यले बताए ।
देशका पर्यटकीयस्थलका होटलहरुसँग व्यवस्थापकीय साझेदारी गर्दै आएको सिद्धार्थ बिजनेश ग्रुपले सामनाको व्यवस्थापनसँगै मकवानपुर जिल्लाको पर्यटन प्रवर्धन गर्दै मध्य र मध्यपूर्वि नेपालका पर्यटन प्रवर्धनमा उल्लेखनीय कार्य गर्ने सिद्धार्थ बिजनेश ग्रूप अफ हस्पिटालिटीका कार्यकारी निर्देशक कृष्ण न्यौपानेले बताए । उनले सिद्धार्थ बिजनेश ग्रुपले देशभर १५ सय भन्दा बढी मानिसहरुलाई रोजगारी दिएको समते बताए ।
२०५८ सालदेखि कैलालीको टिकापुरबाट एक सामान्य होटलबाट सुरु भएको बिजनेश ग्रूपले हाल देशको महेन्द्रनगर देखि बिर्तामोड सम्म २८ वटा कम्पनी संग साझेदारी गरेर काम गरिरहेको बताएका छन् ।