काठमाडौं/नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईसहित ८ जना सांसदलाई निलम्बन गरेको छ । प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्री राईसहित ८ जना सांसदलाई तीन महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको हो ।
निलम्बन हुनेहरुमा मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी प्रदेश सभा सदस्य अम्बिका थापा, बिमल कार्की र इन्द्रमणी पराजुली रहेका छन् । ८ जना सांसदलाई निलम्बन गरेको जानकारी आइतबार नै प्रदेशसभालाई गराईसकिएको छ ।
बुधबार प्रदेश नम्बर १ संसदीय दलका नेता भीम प्रसाद आचार्यले मुख्यमन्त्री राईसहित ८ जनालाई पार्टीको बैठकमा उपस्थित नभएको भन्दै स्पष्टिकरण सोधेका थिए । प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको थियो ।