हेटौंडा/रामेछापको खाँडादेवी गाउँपालिका–३, डफ्काको भिरपानीस्थित माझीगाउँमा तयार भएको एकीकृत नमूना बस्ती हस्तान्तरण गरिएको छ ।
बागमती प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा निर्माण भएको एकीकृत बस्तीमा ४२ घर, सामुदायिक भवन, खेल मैदानलगायत संरचना छन् ।
बागमती प्रदेश सरकार र खाँडादेवी गाउँपालिकाको २ करोड २५ लाख लगानीमा एकीकृत नमूना बस्ती बनेको हो । बस्ती निर्माणका लागि पालिकाले ७५ लाख र बागमती प्रदेश सरकारले डेढ करोड विनियोजन गरेको थियो ।
बस्ती हस्तान्तरण गर्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले माझी समुदायले सुरक्षित घर प्राप्त गरेपछि आवासमा सहजता हुने र जनताको सुरक्षित आवासका लागि प्रदेश सरकारले एकीकृत बस्ती विकास, जनता आवास, खरको छानोमुक्त कार्यक्रममार्फत् काम गरिरहेको बताउनुभयो ।
उहाँले प्रदेश सरकारका आवासविहीन नागरिकहरुलाई व्यबस्थितरुपमा समाजमा स्थापित गराउन हरदम लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । बागमती प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, बागमती प्रदेशका कृषि मन्त्री दावा दोर्जेलामाको पहलमा रामेछापमा पहिलो नमूना बस्ती समुदायलाई हस्तान्तरण गरिएको हो ।