मउवा संघको अध्यक्ष पदका लागि राजकुमार न्यौपानेले आफ्नो उम्मेदवारी दिने घोषणा

हेटौंडा टुडे
१३ फाल्गुन २०७७, बिहीबार १८:२९

हेटौंडा/मकवानपुर उद्योग वाणिज्य संघको ५४ औं वार्षिक साधारणसभामा अध्यक्ष पदका लागि राजकुमार न्यौपानेले आफ्नो उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै न्यौपानेले मकवानपुर उद्योग वाणिज्य संघको आउँदो चुनावमा आफू अध्यक्ष पदमा उठ्ने घोषणा गर्नुभएको हो ।

मकवानपुर उद्योग वाणिज्य संघको निवर्तमान अध्यक्ष तथा महासंघको पूर्व केन्द्रीय सदस्यसमेत रहनुभएका न्यौपानेले व्यवसायीहरुलाई अप्ठेरोमा परेको समयमा सहयोग गर्ने नेतृत्व अहिले आवश्यक परेको तथा संघमा भएको निषेधको राजनीति तोड्न आफूले फेरि अध्यक्ष पदका लागि उम्मेदवारी दिन लागेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा न्यौपानेले आफ्नो महासंघको केन्द्रीयस्तरमा गएर नीति निर्माण तहमा पुग्ने बाटो बन्द भएका कारण पुनः अध्यक्ष बन्नुपर्ने बाध्यता भएको बताउनुभयो ।

उद्योग वाणिज्य महासंघको हालै सम्पन्न चुनावमा आफ्नै जिल्लाले आफूलाई सिफारिस नगरेका कारण व्यक्ति विशेष निषेधको राजनीति तोड्न आवश्यक रहेको न्यौपानेको भनाइ छ । आगामी चैत्र २१, २२ र २३ गते मकवानपुर उद्योग वाणिज्य संघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन हुने भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*