प्रेस युनियन मकवानपुरको भेला सम्पन्न,आसन्न निर्वाचनको विषयमा छलफल तथा अन्तरकृया

टुडे संवादाता
१९ फाल्गुन २०७७, बुधबार १९:३७

हेटौंडा/नेपाल प्रेस युनियन मकवानपुर शाखाले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचन लक्षित भेलाको आयोजना गरी छलफल तथा अन्तरकृया गरेको छ ।

बुधबार प्रेस युनियनमा आवद्ध रही विभिन्न सञ्चारगृहमा कार्यरत रहेका पत्रकारबीच भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी पोष्टराजको अध्यक्षतामा भएको कार्यक्रममा युनियनका मध्यमाञ्चल संयोजक राममणी दाहालको प्रमुख आतिथ्यता रहेको थियो ।

भेलामा प्रमुख अतिथी दाहालले युनियन बलियो बनाउनका लागि व्यक्तिगत स्वार्थ र गुटगत प्रवृत्ति त्याग्न आवश्यक रहेको औँल्याएका थिए । संगठनको हितका लागि यस्ता भेला र छलफल आवश्यक हुने समेत दाहालको भनाई थियो ।

त्यस्तै पत्रकार महासंघ बागमती प्रदेशकी उपाध्यक्ष सम्झना कार्कीले प्रेस युनियनमा आवद्ध पत्रकारहरुले लोकतन्त्रको संस्थागत विकास र संविधानको रक्षाको लागि कलम चलाउने पर्ने बताइन् ।

यस्तै कार्यक्रममा उपस्थित प्रेस युनियन आवद्ध पत्रकारहरुले मर्यादित पत्रकारिताको माध्यमबाट लोकतन्त्रको संस्थागत विकास र संविधानको रक्षाको लागी सधैं कलम चलाउँने प्रतिवद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा युनियनकर्मीहरुले आसन्न पत्रकार महासंघको निर्वाचनमा युनियनको उपस्थिति कस्तो रहने भन्ने सन्दर्भमा आ–आफ्नो राय पेश गरेका थिए ।

कार्यक्रममा युनियन मकवानपुरका निवर्तमान अध्यक्ष रुपेश दुलाल, पूर्व अध्यक्ष गोकर्ण सुवेदी, अग्रज पत्रकार राजन दाहाल खुशराज, प्रेस युनियनका केन्द्रीय पार्षद् एवम् रामेछापका पत्रकार युवराज श्रेष्ठ, र नेपाल पत्रकार महासंघ मकवानपुरका सचिव गणेश दर्पण अधिकारीले प्रेस युनियनबाट लोकप्रिय, श्रमजिवी र आम पत्रकार तथा संचारमाध्ययमको हित गर्नसक्ने व्यक्ति पत्रकार महासंघको निर्वाचनमा उम्मेदवार हुनुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा कांग्रेस मकवानपुरका निर्वतमान सभापती रघुरमण न्यौपानेको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको थियो । न्यौपाने लामो समयदेखि क्यान्सर रोगको उपचार गराइरहेका छन् ।

सोही भेलामा नवयुग अनलाइनमा कार्यरत राममणी न्यौपाने प्रेस युनियनमा प्रवेश गरेका छन् ।

हिजो मंगलवार बसेको युनियनको कार्यसमिति बैठकबाट आसन्न पत्रकार महासंघको निर्वाचन परिचालन कमिटीसमेत बनाइएको छ ।
युनियन मकवानपुरका सचिव केशव समपर्णको संयोजकत्वमा ७ सदस्यीय कमिटी बनाइएको युनियन मकवानपुरका संगठन विभाग प्रमुख बलराम पुडासैनीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*