रिद्धि सिद्धिको ढुंगा ढुवानीमा किन मागियो ‘दादा भत्ता’

हेटौंडा टुडे
२० फाल्गुन २०७७, बिहीबार २१:३५

हेटौंडा । सिमेन्ट उत्पादनको लागि कच्चा ढुंगा ढुवानी गर्दा केही व्यक्तिहरुले अवैध रुपमा रकम उठाउने धन्दा सुरु गरेको भन्दै राक्सिराङका स्थानीय युवाहरुले आपत्ति जनाएका छन् । राक्सिराङ गाउँपालिका–४ स्थित गिंगु क्षेत्रबाट रिद्धिसिद्धि सिमेन्ट उद्योगले उठाइएको ढुृंगा ढुवानीमा ढुवानीकर्तासँग ‘दादा भत्ता’को नाममा अवैध रकम नदिएकै कारण तीनदिनदेखि खानी क्षेत्रमा अवरोध भइरहेको स्थानीय युवाहरुको भनाइ छ ।
केही निश्चित व्यक्तिहरुले आफ्नो व्यक्तिगत स्वार्थको लागि ढिुवानीमा अवरोध पु¥याएकोप्रति स्थानीय युवाहरुले आक्रोश व्यक्त गरेका छन् । ४५ जना युवाहरुले विभिन्न माग राख्दै राक्सिराङ गाउँपालिकामा ज्ञापनपत्रसमेत बुझाएका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय मकवानपुर, जिल्ला प्रहरी कार्यालय मकवानपुरलगायतलाई बोधार्थ दिएर बिहीबार राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ललाई ज्ञापनपत्र बुझाएका हुन् ।
गिङगुमा खानी सञ्चालन भइपछि स्थानीयस्तरमा रोजगारी सिर्जना हुने, व्यापार व्यवसाय प्रवद्र्धन हुने, स्थानीय स्तरमा राजस्व संकलन बढ्ने अपेक्षा गरिए पनि राक्सिराङका नभई मनहरी र हेटौंडाका मानिसहरुले बढी अवसर लिइरहेको भन्दै ज्ञापनपत्रमा ध्यानाकर्षणसमेत जनाइएको छ । स्थानीय पदम बलको नेतृत्वमा पुगेको स्थानीयको टोलीले विभिन्न माग राख्दै गाउँपालिकालमा ज्ञापनपत्र बुझाएको हो ।
सिमेन्टको खानी दर्ता भए भएको वा नियमानुसार सञ्चालन भए नभएको अनुगमन गर्नुृपर्ने, नियमानुसार राजस्व दाखिला गरेनगरेको सुनिश्चित गर्न माग गरिएको छ । साथै रिद्धिसिद्धिले स्थानीयलाई रोजगारमा प्राथमिकता दिनुपर्ने, गैरकानुनी भत्ता तथा कमिशन बन्द गरी शान्ति सुरक्षा कायम गर्नुपर्ने, वायु प्रदूषण न्यूनीकरणलगायतको माग स्थानीय युवाहरुले गरेका छन् ।
यसैबीच नेपाल तरुण दल राक्सिराङ गाउँपालिकाका अध्यक्ष सुरज लामासहितको टोलीलाई खानी क्षेत्रमा अवरोध गर्न बसेकाहरुले हतियारसहित आक्रमणको प्रयास गरेको जनाइएको छ । राक्सिराङ–४ स्थित रतुवा जंगलमा भरुवा बन्दुक खुकरीसमेत देखाई खानी क्षेत्रमा अवरोध गर्न खटिएकाहरुले आफूहरुलाई आक्रमण गर्ने प्रयास गरेको तरुण अध्यक्ष लामाले बताएका छन् ।
राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले खानीमा अवरोध हुनुको कारण पहिचान गर्न लागिएको बताए । साथै सिमेन्ट उद्योगको कमीकमजोरी भए सच्याउने र केही व्यक्तिहरुले अवैध असुली गरेको भए कानुनअनुसार कारबाही गरिनेसमेत मल्लले बताए । ‘खानी विभागकै स्वीकृतिमा गिङ्गुमा खानी सञ्चालन भइरहेको छ । कानुनभन्दा बाहिर गएर काम गरिरहेको भए उद्योगलाई कानुनको दायरामा ल्याउनुपर्छ । नत्र भने उद्योगलाई दुख दिँदै अवैध असुल गर्न खोज्नेलाई कारबाही गर्नुपर्छ ।’ अध्यक्ष मल्लले भने । स्थानीयको ज्ञापनपत्रपछि आफूहरुले सिमेन्ट उद्योगसँग आधिकारिक कागजपत्र माग गरिसकिएको र ढुंगा ढुवानीमा अवरोध हुनुको कारणबारे बुझ्न सुरु गरिएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*