हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघ हेटौंडाले हेटौंडा अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरेको छ । मकवानपुरका अस्पतालहरुमा अक्सिजन अभाव हुन थाले पछि विभिन्न सामाजिक संघ संस्था, सामाजिक अभियान्ता, निजी क्षेत्रका संघसंस्थाहरुले सिलिण्डर सहयोग गरिरहेका छन् ।
सोही अनुरुप शुक्रबार संघले ५९ थान सिलिण्डर बागमती प्रदेश सभाका सदस्य, नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँबाट अस्पताललाई सिलिण्डर हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष कृष्ण कटुवाल, उपाध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवाल, पदाधिकारीहरु, संघका सल्लाहकार, नेपाली कांग्रेस कोभिड १९ अनुगमन समितिका संयोजक उत्सव इटेनी, पुरानो नारायणी संघ, निर्माण व्यवसायी संघ, औषधी व्यावसायी संघका प्रतिनिधिहरु, उपभोक्ता अधिकारकर्मी उपस्थिती रहेको थियो ।
संघका उपाध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालले खरिद गरेका ८५ थान सिलिण्डर मध्ये ५९ थान अस्पताललाई प्रदान गरिएको हो । बाकीँ २६ थान अस्पतालमा अत्यावश्यक अवस्थामा प्रदान गरिने संघले जनाएको छ । संघका महासचिव प्रमोद सिं रानाभाटले गाडीको व्यवस्था गरी सिलिण्डर खरिद गरिएको थियो । उक्त सिलिण्डर अस्पतालका अध्यक्ष राजेश प्रसाईलाई हस्तान्तरण गरिएको थियो ।




















