
हेटौंडा । नेपाल तरुण दल मकवानपुरले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेको भन्दै त्यसलाई नसच्याए कठोर कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ । नेपालको संविधान २०७२ को व्यवस्थाको खिलाफमा गई केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा जेठ ७ गते मध्ये रातमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रतिनिधि सभा विघटन गरी निर्वाचन घोषणा गरेको प्रति तरुण दलले आपत्ति जनाएको हो ।
तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकले एक विज्ञप्ति जारी गर्दै जेठ ७ गतेको कदम ओलीको २०७७ पुस ५ गतेको असफल संसद विघटनकै निरन्तरताको रुपमा व्याख्या गरेको छ । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री पदबाट राजीनामा नै नदिई आफूसँग भएको संसदको विश्वास लिन सक्ने परिस्थिति नभएको भन्दै राष्ट्रपति राष्ट्रपति समक्ष अनुरोध पेश गर्नु र राष्ट्रपति विद्यादेवी भण्डारीले सोही अनुसार प्रधानमन्त्री नियुक्ति प्रयोजनको लागि आधार प्रस्तुत गर्न प्रतिनिधि सभा सदस्यलाई आह्वान गर्नु आफैंमा असंवैधानिक कदम भएको तरुण दलको ठहर रहेको छ ।
कोरोना महामारीबाट देश आक्रान्त बनिरहेको अवस्थामा केबल २१ घण्टाको मात्र समय दिएर नयाँ सरकारको दावी गर्न आह्वान दुराशय पूर्ण रहेको हाम्रो ठहर रहेको छ । राष्ट्रपतिको आह्वानकै आधारमा तोकिएकै समयमा नेपाली कांग्रेसका सभापति एवम् प्रतिनिसिभा सदस्य माननीय शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दै १४९ प्रतिनिधि सभा सदस्यले दावी पेश गरे लगतै प्रधानमन्त्ती केपी शर्मा ओलीले आफ्नो पक्षमा फर्जी बहुमत पेश गरे ।
राष्ट्रपति जस्तो गरिमामय पदमा रहेको व्यक्तिले प्रधानमन्त्रीका लागि बहुमत सदस्यको हस्ताक्षर सहित गरिएको दावी स्वीकार गर्दै प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभा विघटन गर्न मार्ग प्रसस्त गर्नु निन्दनीय छ । अध्यक्ष पाठकद्वारा जारी विज्ञप्तिमा भनिएको छ । राष्ट्रपति र प्रधानमन्त्रीले नियोजित कदम चालेको भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सुरु देखि नै पूर्वाग्रह राख्ने ओलीले असंवैधानिक संकट निम्त्याउने आफ्नो प्रयत्नलाई एक कदम अघि बढाउने दुष्कार्य गरेको आरोप लगाइएको छ ।
देशको सर्वोच्च सम्माननीय संस्थालेसमेत ओलीका असंवैधानिक कदमलाई एक पछि अर्को गर्दै मतियारी दिँदै आएकोप्रति चिन्तित रहेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीमाथि पनि आवश्यक कारबाही गर्न माग गरिएको छ । ओलीको कदमविरुद्ध दबाब सिर्जन ागर्न आम नेपालीलाई आग्रहसमेत गरिएको छ ।
तरुण दल मकवानपुरको विज्ञप्ति

