स्वर्गीय बाबुको स्मृतिमा खड्गी परिवारले गरे वृद्धाश्रमलाई सहयोग

हेटौंडा टुडे
१७ जेष्ठ २०७८, सोमबार १९:०७

हेटौंडा/स्वर्गीय बाबुको स्मृतिमा हेटौंडाको एक खड्गी परिवारले वृद्धाश्रमलाई ह्वील चियरदेखि खाद्यान्न सामग्री सहयोग गरेको छ ।
हेटौंडा–४, कर्रा निवासी यातायात व्यवसायी भेष खड्गीको परिवारले स्वर्गीय बाबु कृष्णबहादुर खड्गीको सम्झनामा वृद्धवृद्धाका लागि सहयोग उपलब्ध गराएको हो । सोमबार हेटौंडा–२ चौकिटोलस्थित ओम वृद्धाश्रममा खड्गी परिवारले ह्वील चियर, ह्वील स्ट्याण्ड, वैशाखी, लठ्ठी, कपडासहितका सामग्री सहयोग गरेको हो । आश्रमलाई खाद्यान्नमा चामल, दाल, पिठो, चिनी, फलफूललगायतका सामग्री सहयोग गरिएको दिपेश खड्गीले जानकारी दिएका छन् ।
कोरोना महामारीका कारण जारी निषेधाज्ञामा वृद्धाआश्रमलाई पनि असहज भइरहेको अवस्थामा बाबुको सम्झनामा वृद्धवृद्धाका लागि सहयोग गरिएको खड्गीले बताए । स्वर्गीय कृष्णबहादुरको श्रीमती कृष्णमाया खड्गी, छोराहरु केशव खड्गी, भेष खड्गी, राजेश खड्गी, सुरेश खड्गी, छोरी मिना खड्गीले आश्रमका अध्यक्ष बुद्धिप्रसाद पौडेललाई सामग्री हस्तान्तण गरेका थिए ।
खड्गी परिवारले आश्रमलाई थप आवश्यक सामग्री सहयोग गर्ने प्रतिबद्धता पनि जाहेर गरेको छ । वृद्धवृद्धाको पालनपोषण गर्दै आइरहेको आश्रम सहयोगबाटै सञ्चालित हुने भएकोले आवश्यक सामग्री सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको दिपेश खड्गीले जानकारी दिए । आश्रमका अध्यक्ष पौडेलले कोरोना महामारीका कारण आश्रमलाई अप्ठेरो परिरहेको बेला सहयोग प्राप्त हुँदा ठूलो राहत पाइएको बताए । उनले सहयोगका लागि आग्रह पनि गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*