सर्वोच्च अदालतको फैसलाको नेता बानियाँद्वारा स्वागत

टुडे संवादाता
२८ असार २०७८, सोमबार १४:५४

हेटौंडा/नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले सर्वोच्च अदालतले सोमबार गरेको फैसलाको स्वागत गरेका छन् ।

अदालतले राष्ट्रपतिबाट भएका सबै निर्णय बदर गर्दै साउन ३ गतेभित्र संसद बैठक बोलाउन तथा दुई दिन भित्र नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न दिएको आदेशको नेता बानियाँले सम्मान व्यक्त गर्दै स्वागत गरेका हुन् ।

संचारकर्मीहरूलाई प्रतिक्रिया दिंदै उनले अदालतले संसदीय मूल्यमान्यतालाई स्थापित गरिदिएको बताए । उनले प्रधानमन्त्रीको सनक र राष्ट्रपतिको बहकाउमा संसद विघटन गर्न नमिल्ने स्पष्ट पारेको उल्लेख गर्दै संविधानको रक्षा एवं संसदीय गरिमाको सम्बर्द्धनकाे पक्षमा स्वतन्त्र न्यायपालिकाले स्पष्ट फैसला दिएको बताए ।

सर्वोच्चका ‘न्यायमूर्तिहरू’को अहिलेको फैसलाले संविधानको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउने काम भएको उनको भनाइ छ । कुनै पनि राजनैतिक व्यक्तित्वले लोकतन्त्र कमजोर पार्न खोजे स्वतन्त्र न्यायपालिका रहेसम्म त्यो सफल नहुने कुराको अहिलेको फैसला प्रमाण भएको बताए ।

उनले नेपाली कांग्रेसको काँधमा युगिन जिम्मेवारी आएको भन्दै पार्टीका सबै तह र तप्काका नेता कार्यकर्ता सधैं झैं जिम्मेवार र मर्यादित भई जनताको सेवामा जुट्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउने काममा निरन्तर खटिनुपर्नेमा जोड दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*