काठमाडौं /राष्ट्रिय सभाको आठौँ अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्को बैठकको सिफारिसमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले चालू अधिवेशन अन्त्य गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले सोमबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्ने पत्र संघीय संसदलाई पठाएकी छन् । संघीय संसदको महासचिव डा. भरतराज गौतमले सोमबार बसेको राष्ट्रिय सभाको बैठकबाट मङ्गलवार दिउँसो ३:०० बजे बस्नेगरी निर्धारण भएको राष्ट्रिय सभाको बैठक समेत स्वतः अन्त्य भएको जानकारी दिए।
गौतमका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम सोमबार बसेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभाको आठौँ अधिवेशन अन्त्य गरेकी हुन्। राष्ट्रपतिको पत्र पाएपछि संघीय संसद् सचिवालयले चालू अधिवेशन अन्त्यको घोषणा गरेको हो ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा(१) बमोजिम मन्त्रिपरिषद्का सिफारिसमा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा असार १७ गते अपराह्न ४ बजे अधिवेशन आह्वान गरेकी थिइन्।






















