
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध पत्र बुझाएको छ । प्रधानमन्त्री नियुक्त भई विश्वासको मत समेत लिन सफल भएकोमा बधाई एवं शुभकामना ज्ञापन गर्न बुधबार बालुवाटार पुगेको संसदीय दलको टोलीले देश एवं बागमती प्रदेशका समस्या समाधानका लागि अनुरोध पत्र बुझाएको हो । संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले प्रधानमन्त्री एवं पार्टी सभापति समेत रहेका देउवालाई अनुरोध पत्र हस्तान्तरण गरेका थिए ।
अनुरोध पत्रमा कोरोना संक्रमणका कारण देश नै आक्रान्त रहेकाले देशका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने व्यवस्थाका लागि अनुरोध गर्दै यसको बढि जोखिममा बागमती प्रदेश रहेकाले कोरोनाको खोपबाट बन्चित र पहिलो डोज लगाईसकेका जनतालाई यथाशिघ्र खोपको व्यवस्था गर्न अनुरोध गरिएको छ । कोरोनाका कारण दैनिक ज्यालादारी गर्ने मजदुर र खाद्यान्नको अभाव झेलिरहेका विपन्न वर्ग भोकसंग लडिरहेकाले रोगसंगै भोकसंग समेत लडिरहेका जनतालाई स्थानीय सरकारको वडा तहबाट खाद्यान्न उपलव्ध गराउनका लागि संघीय सरकारको पुरक बजेटमार्फत रकम उपलव्ध गराउन कांग्रेसले अनुरोध गरेको छ । देश एवं बागमती प्रदेशका सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची लगायत विभिन्न जिल्लामा पछिल्लो समय गएका प्राकृतिक विपत्तिका कारण धनजनको क्षति भएको उल्लेख गर्दै विपदका कारण घरबारविहिन भएका जनतालाई तत्काल घरबारको व्यवस्था र उचित राहतको व्यवस्थाका लागि अनुरोध गरिएको छ ।
संसदीय दलको अनुरोध पत्रमा पहिलो र दोस्रो चरणको कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि भएको लकडाउन एवं निषेधाज्ञाका कारण साना, मझौला एवं ठूला व्यवसाय, उद्योग, कलकारखाना, कृषि क्षेत्र धरासायी भएकाले राष्ट्र बैंकले साउन १५ गते ल्याउने मौद्रिक नीतिमार्फत कोरोनाका कारण मारमा परेका उद्योग, व्यवसायको ऋण भुक्तानीलाई पुर्नतालिकिकरण, कोरोना अवधीको व्याज दरलाई न्यून दरमा भुक्तानीको व्यवस्था, निक्षेपको ब्याज र ऋणको ब्याजबीचको स्प्रेड दर घटाउने र व्याजको सिमा निर्धारण गर्ने जस्ता उपाय अवलम्बन, विशेष राहत प्याकेजको व्यवस्था गरि आर्थिक क्षेत्रलाई प्रोत्साहन गर्दै पार्टीप्रतिको नीजि क्षेत्रको विश्वास बढाउन विशेष ध्यान दिन अनुरोध गरिएको छ ।
दुई तिहाई मत दिंदा समेत कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता क्षेत्रमा जनताको अपेक्षा पुरा गर्न नसकेको र कृषि प्रधान देशका कृषकले रासायनिक मल, बिउविजन, सिंचाईको समस्या झेलिरहनु परेको अवस्थामा नेपाली कांग्रेस नेतृत्वको सरकारबाट यी क्षेत्रमा उल्लेख्य सुधार हुने अपेक्षा जनतामा रहेकाले यसतर्फ ध्यान दिन कांग्रेस बागमती प्रदेश संसदीय दलले अनुरोध पत्रमार्फत अनुरोध गरेको छ । संसदीय दलका नेता बानियाँले देउवासंगको भेटमा विगतदेखि अहिलेसम्म जनताका हरेक दुःखसुखमा निरन्तर उभिएको र जनताको पक्षमा सधैं सडकदेखि सरकारसम्म नेतृत्व गरेको नेपाली कांग्रेसका सभापति देउवा नेतृत्वको वर्तमान सरकारले सबै वर्ग र तहका नागरिकको मन छुने काम गर्नेछ भन्ने विश्वास व्यक्त गर्दै का बधाई एवं सफल कार्यकालको शुभकामना दिएका थिए ।
उनले प्रधानमन्त्री देउवा नेतृत्वको सरकार सम्पूर्ण जातजाति, भाषा, धर्म, लिंग, समुदाय, उत्पिडित बर्गको हो भन्ने प्रत्याभुति गराउने ढंगले काम अघि बढाउनेमा विश्वास व्यक्त गर्दै कांग्रेस नेतृत्वमा सरकार गठन भएसंगै देश एवं बागमती प्रदेशका जनतामा आशा एवं भरोसा बढेको बताए ।
प्रधानमन्त्री देउवाले जनताका कोरोनाविरूद्धको खोपदेखि सबै खाले अपेक्षा पूरा गर्न आफू नेतृत्वको सरकार ठोस रणनीतिका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

