नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्दै

हेटौंडा टुडे
२०७८ श्रावण ११, सोमबार १३:०९ गते

हेटौँडा/ प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी व्यवसायीसमेत रहेका नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई दिएका छन्।

असार २९ गते प्रधानमन्त्री पदको शपथ लिएलगत्तै कांग्रेस र माओवादी केन्द्रका दुई र दुई सांसदलाई मन्त्री बनाएका देउवाले सत्तारुढ गठबन्धनभित्रको आन्तरिक विवाद र आफ्नै पार्टी कांग्रेसभित्रको विवाद व्यवस्थापन तथा सरकारको न्यूनतम साझा कार्यक्रम तय भएपछि सरकारलाई पूर्णता दिने बताइएको थियो। तर, देउवाले आइतबार अचानक स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैँमा रहनेगरी श्रेष्ठलाई राज्यमन्त्री बनाएका हुन्।

श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिइएको भन्दै अलोचना भएको छ। ‘डोबाटे विकको गण्डकीमा अपमानपूर्वक नियुक्ति रोकिनु र आज शिक्षाका व्यापारी तथा बैंकका मालिक उमेश श्रेष्ठलाई राज्यमन्त्री बनाउनु दुवै घटनालाई नेपाली कांग्रेसको ऐतिहासिक विचलनको रुपमा लिनुपर्छ,’ नेपाल पत्रकार महासंघका पूर्वसभापति तारानाथ दाहालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यस्तै हुँदै गए कांग्रेसको लोकप्रियतामा सुशीला कार्कीमाथि महाभियोग प्रकरणले सरह क्षति निश्चित छ ।

पद तथा गोपनीयताको शपथसँगै आइतबार पद बहाली गरेका श्रेष्ठले सरकारको पहिलो प्राथमिकता कोरोनाविरूद्ध सबै नेपालीलाई खोप लगाउने भएकाले आफ्नो सम्पूर्ण ध्यान खोपमा केन्द्रित गर्ने बताए।

महेन्द्रनारायण निधि मेमोरियल सामुदायिक अस्पताल र जनमैत्री अस्पतालमा समेत आबद्ध उनले जलविद्युत् र कृषि क्षेत्रमा पनि हात हालेका छन्। कोरोना संक्रमणबाट जनता आहत बनेको र तेस्रो लहर आउने विज्ञहरूले औंल्याइरहेका बेला श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाइएको हो।

लिटिल एनजल्स, आइडिया मोडल, स्मल हेभनलगायत विद्यालयका सञ्चालक श्रेष्ठ झण्डै चार दशकदेखि शिक्षा क्षेत्रमा सक्रिय छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*