
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले कांग्रेस वडा अधिवेशनसंगै स्थानीय तहको संगठन विस्तारको अभियानमा जुटेको बताएका छन् ।
आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै नेता बानियाँले भदौ २० गते मकवानपुरको १०२ वटै वडाको अधिवेशन हुने र सोही क्रममा वडास्तरबाटै संगठन विस्तारको अभियानलाई प्राथमिकताका साथ अघि बढाइने बताए ।
उनले पार्टीको आकार स्थानीय तहमा बनाइएको संगठनको संरचनाले निर्धारण गर्ने बताउँदै वडा समितिमा सक्षम र पार्टी एवम् देश र जनताप्रति इमान्दार छबि कायम राख्न सक्ने व्यक्तिलाई जिम्मेवारी सुम्पिने बताए ।
वडा तहमा चयन भएको नेतृत्वले नै जिल्ला, क्षेत्र र प्रदेश समिति चयन गर्ने भएकोले वडा तहमा राम्रा व्यक्तिलाई चयन गर्ने विषयमा पार्टीका पदाधिकारीहरुलाई गम्भीर हुन निर्देशन दिए ।
पत्रकारहरुको प्रश्नको जवाफ दिँदै नेता बानियाँले आफ्नो उम्मेदवारी कहाँ हुने भन्ने सन्दर्भमा एकिन भइनसकेको बताए । बागमती प्रदेश संसदीय दलको नेता पनि भएको र राजधानीको नेता भएको हिसाबले प्रदेश सभापतिमा उम्मेदवारी दिनुस् भन्ने सुझाव पनि प्राप्त भइरहेको बताउँदै उनले एकिन भने भइनसकेको उल्लेख गरे ।
त्यस्तै पार्टी मकवानपुरका प्रवक्ता प्रदिप कोइरालाले वडाको अधिवेशन भदौ १८ देखि २३ गतेभित्रमा सम्पन्न गर्नुपर्ने केन्द्रको निर्देशन बमोजिम नै पार्टीको बैठक राखी २० गतेका लागि अधिवेशनको मिति तय गरिएको बताए ।
कांग्रेसले भदौ २७ गतेभित्रमा पालिका स्तरको अधिवेशन पनि सम्पन्न गरिसक्नुपर्ने प्रवक्ता कोइरालाले बताए ।
नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारीको सभाध्यक्षतामा प्रेस सम्मेलन भएको हो ।
