
हेटौँडा/ मकवानपुरमा नेपाली कांग्रेसको १० वटै स्थानीय तहको १०२ वडाहरुमा वडा अधिवेशन भदौ २० गते हुने भएको छ । १४ औं महाधिवेशन बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जिल्ला सभापति इन्द्रबहादुर बानियाँले अधिवेशनबारे जानकारी दिएका थिए । उनले स्वास्थ्य मापदण्ड पालना गरेर अधिवेशनको प्रक्रिया अघि बढाउने, निष्पक्ष र सक्रिय ढंगले वडा तहको अधिवेशन गर्ने उद्देश्यले भदौ २० गते गर्ने सहमति भएको बताए ।
पार्टी कार्यालयमा बुधबार साँझ जिल्ला पदाधिकारी, सल्लाहकार, क्षेत्रीय सभापति, जिल्ला निर्वाचन अधिकृतसहितको भेलाले भदौ २० गते वडा अधिवेशन गर्ने निर्णय गरेको हो । त्यहाँ छनौट भएका वडा कार्यसमितिले वडा र प्रतिनिधिहरूले माथिल्लो तहको नेतृत्व छनौट गर्ने बताइएको छ । त्यस्तै पार्टी मकवानपुरका प्रवक्ता प्रदिप कोइरालाले वडाको अधिवेशन भदौ १८ देखि २३ गतेभित्रमा सम्पन्न गर्नुपर्ने केन्द्रको निर्देशन बमोजिम नै पार्टीको बैठक राखी २० गतेका लागि अधिवेशनको मिति तय गरिएको बताए । कांग्रेसले भदौ २७ गतेभित्रमा पालिका स्तरको अधिवेशन पनि सम्पन्न गरिसक्नुपर्ने प्रवक्ता कोइरालाले बताए । नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारीको सभाध्यक्षतामा पत्रकार सम्मेलन भएको हो ।
