भदौ १७ गते बाट काठमाडौँमा सिनेमा हल खुल्ने

हेटौंडा टुडे
१७ भाद्र २०७८, बिहीबार १२:५९

हेटौँडा/ काठमाडौँ उपत्यकामा जिल्ला प्रशासन कार्यालयहरूले भौतिक रूपमा विद्यालय सञ्चालनबारे अस्पष्ट निर्णय गरेका छन् । तर प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सिनेमा हल भने भदौ १७ गते बिहीबारबाट खुलाउने निर्णय गरेका छन् । यो सँगै मनोरञ्जन स्थल, जिमखाना, खेलकुद, व्युटीपार्लर सैलुन लगायतका अहिलेसम्म बन्द रहेका व्यवसाय सञ्चालन हुने भएका छन् । बुधबार बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हरूको बैठकले जारी निषेधाज्ञाबारे थप निर्णय गर्दै विद्यालय सञ्चालनबारे भने अस्पष्ट निर्णय गरेका हुन् ।कोरोना भाइरस सङ्क्रमणका दरलाई विश्लेषण गरेर विद्यालयबारे यस्तो निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीराज निरौलाले जानकारी दिए। ‘केही क्षेत्रमा भने निषेधाज्ञा जारी नै छ’, निरौलाले भने । उनका अनुसार निषेधाज्ञामा गर्न नहुने भनेर लेखिएका बाहेक अन्य व्यवसाय सञ्चालन हुन सक्नेछन् ।

बैठक पछि काठमाडौँ जिल्ला प्रशासनले जारी गरेको आदेशमा भदौ १७ देखि भदौ मसान्तसम्म लागु हुने गरी शैक्षिक संस्थाहरू भौतिक उपस्थितिमा पठनपाठन गर्न गराउन नपाउने उल्लेख छ । आदेशमा भौतिक उपस्थितिमा पठनपाठन गर्नुपर्ने भएमा सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रहेर स्थानीय तहरुले कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरू सञ्चालन गर्न सक्ने उल्लेख छ ।

त्यस्तै प्रशासनले अनावश्यक रूपमा भीडभाड नगर्ने, सभा, जुलुस, जात्रा, महोत्सव आदि नगर्ने नराउने भनेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*