
हेटौँडा/ मकवानपुरमा सबै वडामा नेपाली काँग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ । देशभर १८ गते वडा अधिवेसन भनिएता पनि मकवानपुरमा भने २० गते आइतबार बिहानैदेखि जिल्लाका सबै वडाहरूमा सुरु भएको हो । केहि स्थानमा भने अधिवेशन राति सकिएको थियो । जिल्लाका १० वटै स्थानीय तहका १०२ वटै वडामा आइतबार भएको वडा अधिवेशन विवादरहित तवरले सम्पन्न भएको र क्रियाशील नेतृत्व चयन गर्न सफल भएको नेपाली काँग्रेस मकवानपुरका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिएका छन्, ।
मकवानपुरको ८ वटा गाउँपालिका एक नगरपालिका र एक उपमहानगरपालिकाका १०२ वटा वडा मध्ये १३ वटा वडामा वडा कार्यसमितिमा भने निर्वाचन मार्फत् नेतृत्व चयन भएको कोइरालाले बताए । गाउँपालिका क्षेत्रका अधिकांश वडाहरूमा सर्वसम्मत रूपमा नेतृत्व चयन गरिएको भए पनि नगर क्षेत्रका केही वडामा निर्वाचन गराउनु परेको प्रवक्ता कोइरालाले बताए ।
उनका अनुसार हेटौँडा उपमहानगरपालिकाको १९ वटा वडामध्ये ७ वटामा निर्वाचन गर्नु परेको थियो भने गाउँ क्षेत्रका ६ वटा वडामा पनि निर्वाचन भएको थियो । त्यस्तै क्षेत्रीय प्रतिनिधि(वुथ)मा पनि निर्वाचन गरिएको छ भने केही वडामा सर्वसम्मत भएको कोइरालाले बताए । समावेशी तर्फ भन्दा पनि वुथको लागि प्रत्यक्ष खुलामा निर्वाचन गरिएको अवस्था छ । अब कुन-कुन वडामा भयो भन्ने कुरा निर्वाचन अधिकृतले सोमबार सबै विवरण दिएपछि थाहा हुने बताए । मकवानपुरमा वडा अधिवेशनमा नयाँ क्रियाशील सदस्य ५ हजार ३०० जना र पुरानो ४ हजार २४२ जना गरी ९ हजार ५४२ जना सदस्य रहेका छन् ।

